११ पुष २०८१, बिहीबार

सरकारी कार्यालयहरू बन्दको अवस्थामा



धनगढी । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि कर्मचारीहरू मतदान केन्द्रमा खटिएपछि कैलालीका सरकारी कार्यालय प्राय: बन्द अवस्थामा छन् । गैरसरकारी कार्यालय तथा संघ संस्थाहरू पनि बन्द छन् ।
बिहीबार हुने निर्वाचनका लागि सबै कर्मचारी मतदान स्थल पुगिसकेका छन् । सबैभन्दा बढी भीड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका कार्यालयहरू सुनसान भएका छन् । प्रशासन कार्यालयमा भने सुरक्षा समिति बैठक, भेटघाट, औपचारिक तथा अनौपचारिक छलफल निर्वाचन छलफलसम्बन्धी काम गर्नुपरेकाले प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष खुल्ला छ । चहलपहल पनि उत्तिकै देखिन्छ । अन्य कार्यालय भने बन्द छन् ।
जिल्ला प्रशासन कार्यालयमा सवारी पास बनाउनेबाहेक अन्य सेवाको लागि आएका छैनन् । राहदानी र नागरिकताको फाँट पनि शून्य बनेको छ । दैनिक १००/१५० जनाको भीड लाग्ने यी फाँटहरूमा चुनाव लागेसँगै शुन्य भएको हो ।
दोस्रो चरणमा बिहीबार हुने निर्वाचनको लागि जिल्लाभर चार हजार दुई सय ९८ कर्मचारी खट्टिएका छन् । वित्तीय संस्थाका प्रमुख, शिक्षकहरू, कर्मचारीहरू मतदान अधिकृतको रूपमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार