११ श्रावण २०८१, शुक्रबार

निर्वाचनमा सुरक्षा सन्दर्भमा : थोरैले मात्र प्रशासनमा हतियार बुझाए



धनगढी । कैलालीमा लाइसेन्स पाएका मध्ये न्यून संख्याले मात्रै प्रशासनमा हतियार बुझाएका छन् । कैलालीमा पाँच सय जनाले अनुमति प्राप्त हतियार राखेको भए पनि कैलालीमा १५ जनाले मात्र हतियार बुझाएको जनाइएको छ ।
भोलि (बिहिबार) हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि किसिमको अवाञ्छित तथा अपराधिक गतिविधि हुन नदिन तथा भयरहित वातावरणमा निवाचन सम्पन्न गर्न स्थानीय प्रशासनले लाइसेन्स प्राप्त हतियार बुझाउन आह्वान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता वीरबहादुर बुढामगरका अनुसार धनगढीमा ११ र टीकापुरमा चार गरी १५ जनाले हतियार बुझाएको बताए । कैलालीमा एक नाले बन्दुक, बाह्रबोर, सर्टगन, सामान्य घरायसी बन्दुक, पिस्तोल लगायतका हातहतियार रहेको जनाइएको छ ।
स्थानीय तहको निर्वाचनको समयमा कैलालीमा अनुमतिप्राप्त चार सय ७९ थान हातहतियार रहेको पाइएकोमा अहिले सो संख्या बढेर पाँच सय नाघेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
प्रजिअ रिजालले मौन अवधिमा कुनै व्यक्तिसंग हातहतियार फेला परेमा खरखजाना हातहतियार अन्तर्गत मुद्दा चलाइने बताए । ‘हामीले निजी हतियार बुझाउन ३५ दिने सूचना जारी गरेका थियौं, सो अवधिमा अनुमति प्राप्त गरेका व्यक्तिले पनि हतियार बुझाउन चासो देखाएनन्’ उनले निर्वाचन अवधिमा कुनै पनि प्रकारका हतियार देखिएमा कानुनी कारवाही गरिने छ ।
सुरक्षा समन्वय समितिले आसन्न स्थानीय तहको निर्वाचनका समयमा पनि हातहतियार बुझाउन आग्रह गर्दा कैलालीमा चार जनाले मात्र व्यक्तिलाई स्थानीय प्रशासनले मतदानको अघिल्लो दिनसम्म पाइक पर्ने प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको थियो ।
प्रजिअ रिजालले सुरक्षाकर्मी र कानुन बमोजिम लिन पाउने हातहतियार बाहेक अरू कोही कसैले कुनै पनि प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, हसिया, पिस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पूर्णतया निषेध गरिनुका साथै निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन तथा विक्रीवितरण कार्यमा पनि पूर्ण बन्देज लगाइएको बताए ।
यस्तै, ७ नम्बर प्रदेशमा ८९ व्यक्तिले अनुमति प्राप्त हतियार बुझाएका छन् । क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार कैलालीमा १५, डोटी ३६, अछाम ८, कञ्चनपुर ८ र डडेल्धुरा २२ गरी ८९ अनुमति प्राप्त हतियार प्रहरी कार्यालयले संकलन गरेको छ ।

मंसिर २० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार