१२ श्रावण २०८१, शनिबार

क्षेत्र नम्बर १ मा निर्वाचनको तयारी अन्तिम चरणमा



टीकापुर । भोलि (बिहीबार) हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट ९३ हजार छ सय ७२ मतदाताले भाग लिने भएका छन् ।
प्रतिनिधि सभा सदस्य १ को प्रदेश सभा क मा ४६ हजार तीन सय ७८ मतदाता रहेका छन् । प्रदेश सभा ख मा ४७ हजार दुई सय ९४ जना मतदाताले सहभागिता जनाउने निर्वाचन आयोगले जनाएको छ ।
क्षेत्र नम्बर १ मा ४५ वटा मतदान स्थल र एक सय ११ मतदान केन्द्र रहेका छन् । कैलाली १ मा सबैभन्दा बढी टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर मावि मतदान स्थलमा ११ हजार चार सय १३ मतदाता रहेका छन् । सबैभन्दा कम भजनी नगरपालिका वडा नम्बर ८ स्थित शिव आधारभूत विद्यालयमा चार सय ७५ मतदाता रहेका कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत खिमानन्द भूसालले जानकारी दिए ।
वीरेन्द्र विद्यामन्दिरमा ११ वटा मतदान केन्द्र रहेका छन् । वीरेन्द्र विद्या मन्दिर कैलाली जिल्लाकै ठूलो मतदान स्थल पनि हो । त्यसपछि टीकापुरकै खड्ग स्मृति मावि मतदान स्थलमा ७ हजार ५ सय २८ मतदाता र ८ ओटा मतदान केन्द्र रहेका छन् । कैलाली क मा एक हजार तीन सय ३२ जना कर्मचारी खटिएको निर्वाचन कार्यालयले जनाएको छ ।
कैलाली क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकाका वडा नम्बर १, ३, ४, ६ र ७ र भजनी नगरपालिकाको वडा नम्बर ६ र ८ समावेश गरिएको छ ।
क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिकाबाट ४७ हजार दुई सय ९४, जोशीपुर गाउँपालिकाबाट २२ हजार ती सय ९०, जानकी गाउँपालिकाबाट १६ हजार पाँच सय ८९ र भजनी नगरपालिकाबाट ७ हजार, ३ सय ९९ जना मतदाताहरूले मतदानमा भाग लिनेछन् । वडागत रूपमा सबै भन्दा बढी टीकापुर १ बाट १८ हजार, ९ सय ४१ र सबै भन्दा कम टीकापुर ९ बाट २ हजार १ सय ९४ मतदाता निवौचनमा सहभागी हुनेछन् ।
कैलाली जिल्ला भरी ४ लाख, ६० हजार, ५ सय ७८ मतदाता, २ सय ३१ मतदान स्थल र ५ सय ३८ मतदान केन्द्र रहेका क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ । मतदान केन्द्रहरूबाट मतदाता परिचयपत्र वितरण कार्य जारी रहेकाले मतदाता परिचयपत्र बुझेर लैजान निर्वाचन कार्यालयले मतदाताहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार