११ श्रावण २०८१, शुक्रबार

तीनदिन सीमानाका बन्द



धनगढी । निर्वाचनको समयमा कुनै पनि किसिमको अवाञ्छित तथा अपराधिक गतिविधि हुन नदिन नेपाल भारतका सम्पूर्ण सीमानाका तीन दिनसम्मका लागि सिल गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार सार्वजनिक सूचना जारी गर्दै बेलुका ५ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म कैलालीसँग जोडिएका नेपाल भारत सीमानाका सम्पूर्णरूपमा बन्द गरिएको जनाइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले केही दिनअघि भारतको पलियामा भएको दुई देशका सरकारी अधिकारी तथा सुरक्षा अधिकारीहरूबीचको बैठकले मंसिर २१ गते हुने निर्वाचनका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रिजालले यो अवधिमा भारतबाट आउने नेपाली मतदातालाई भने आवागमनमा कुनै रोक नलगाइएको बताए ।
मंसिर २१ गते हुने दोस्रो चरण अन्तर्गतको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा सीमा क्षेत्रमा कुनै पनि निर्वाचन विरोधी गतिविधि हुन नदिन सीमानाका बन्द गरिएको सूचनामा उल्लेख छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल पार्न कैलालीको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
जिल्लाको सुरक्षा व्यवस्था कडा पार्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीसँगै नेपाली सेनाले पनि विभिन्न स्थानमा अस्थायी बेस क्याम्प खडा गरेर सुरक्षा व्यवस्था बलियो बनाइएको प्रजिअ रिजालले बताए ।
निर्वाचनको मिति नजिकिँदै जाँदा धनगढीमा बम बिस्फोट तथा फेला पर्ने क्रम बृद्धि हुन थालेपछि सुरक्षा व्यवस्था कडा पार्न प्रशासनले थप सुरक्षा रणनीति अपनाएको जनाएको छ । शान्ति सुरक्षा बलियो बनाउन नेपाली सेनाले जिल्लाका महत्त्वपूर्ण स्थानमा बेस क्याम्प स्थापना गरिसकेको छ ।
त्यस्तै, सशस्त्र प्रहरीले जिल्लाको २२ ठाउँमा अस्थायी पोष्ट राखेर खटिएको छ भने नेपाल प्रहरी पनि सुरक्षाकर्मी परिचालनलाई बढाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिको खोजी तीब्र पारिएको जनाएको छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा दुई सय ३१ मतदानस्थल रहेका छन् । मतदानस्थललाई तीन तहमा वर्गीकरण गर्दै सुरक्षा व्यवस्था मिलाइएको कैलाली प्रहरी प्रमुख घिमिरेले बताए ।
तीमध्ये कैलालीका ७७ वटा मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकरण गरिएको छ । त्यस्तै, एक सय १७ वटालाई संवेदनशील र ३७ वटालाई सामान्य तथा कम संवेदनशील भनेर वर्गीकरण गरिएको छ ।

यसैबिच, निर्वाचन विरोधि गतिविधि गरेको भन्दै कैलालीमा प्रहरीले विभिन्न स्थानबाट विप्लव नेतृत्वको नेकपाका कैलाली जिल्ला इञ्चार्ज सहित १२ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको छ ।

मंसिर १९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार