३१ भाद्र २०८१, सोमबार

दश वर्षभित्र डिजिटल नेपाल– सञ्चार मन्त्री



धनगढी । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सन् २०२७ भित्र नेपाललाई डिजिटल नेपाल बनाउने बताएका छन् ।
‘नेपाललाई डिजिटल प्रविधिमा लग्ने काम अघि बढिसकेको छ’ सोमबार धनगढीमा रेडियो नेपालले आयोजना गरेको ‘रेडियो कार्यक्रम न्यायमा पहुँचको प्रभावकारिता तथा रायसुझाव संकलन’ कार्यक्रममा मन्त्री बस्नेतले भने– ‘मुलुकका सातवटै प्रदेशका १४ जिल्लामा नमुना परियोजनाका रूपमा सामुदायिक विद्यालयमा नि:शुल्क कम्युटर, प्रिन्टर र इन्टरनेटको व्यवस्था गरिएको छ ।
सरकारले आगामी तीन वर्षभित्र मुलुकभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने उद्देश्य राखेको छ । मन्त्री बस्नेतले अहिले सूचना प्रविधिको विकास भइसकेको बताउँदै यसको उचित प्रयोगले राष्ट्रलाई विकासतर्फ लग्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री बस्नेतले सञ्चार मन्त्रालयले प्रदेश नम्बर ७ को प्रदेशस्तरीय टेली सेन्टर धनगढीमा स्थापना गर्ने समेत निर्णय गरेको जानकारी गराए ।
नेपालमा पहिलो चरणका लागि सिन्धुपाल्चोक र कैलालीमा टेलिसेन्टर स्थापना गरिएको उनले बताए । उनले टेली सेन्टरबाट अनलाईन टिभी, एफएम सुन्नका साथै पाठ्यपुस्तकको उपयोग पनि गर्न सकिने बताए । टेली सेन्टर धनगढी वडा नम्बर १५, कनरीमा स्थापना भइसकेको र त्यसको प्राविधिक काम भइरहेको बताए ।
सूचना तथा सञ्चारमन्त्री बस्नेतले देश संघीय संरचनामा गइसकेकाले नेपालको पहिलो तथा सरकारी रेडियो नेपालले पनि अब प्रादेशिक संरचनामा जानुपर्ने सुझाव दिए । उनले यो सँगै रेडियो नेपालले अझै गुणस्तरीय, भरपर्दो, विश्वसनीय र आधुनिकीकरण बनाउँदै लग्न आग्रह गरे ।
‘नेपालका अझै पनि दुर्गम क्षेत्रमा सूचना तथा प्रविधिको पहुँच पुग्न सकेको छैन्’ मन्त्री बस्नेतले भने ‘रेडियो नेपालको पनि पहुँच कुल जनसंख्याको ८३ प्रतिशतमात्र रहेको छ । अब रेडियो नेपाललाई सत प्रतिशत जनताले सुन्न सक्ने वातावरण बनाउन जरुरी छ ।’ उनले रेडियो नेपाललाई आर्थिक रूपले कमजोर हुन नदिन मन्त्रालयले गर्नुपर्ने काममा आफू पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल बार एशोसियसनका सचिव हिमालयविक्रम विष्टले न्यायिक निकाय बालमैत्री, महिलामैत्री नहुँदा अधिकांस महिला र बालबालिकाहरू न्यायको पहुँचबाट वञ्चित हुनुपरेको बताए ।
नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष जगत साउँदले रेडियो नेपालले स्थानीय सामग्रीहरूको सम्प्रेषण गर्नुपर्ने सुझाव दिए ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले स्वागत गरेको कार्यक्रममा प्रशासन महाशाखाका निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको विविध पक्षमा जानकारी गराउँदै रेडियो नेपालको सुधार र विस्तारबारे योजना प्रस्तुत गरेका थिए ।

मंसिर १९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार