२१ आश्विन २०७९, शुक्रबार

बाम गठबन्धनद्वारा मतदाता शिक्षा कार्यक्रम



अत्तरिया । बाम गठबन्धनले कैलालीमा मतदाता शिक्षा कार्यक्रम तीब्र बनाएको छ । बदर मतको प्रतिशत कम गर्न बाम गठबन्धनले मतदाता शिक्षा अगाडि बढाएको छ ।
हरेक क्षेत्रमा फरकफरक चिन्ह हुने भएकोले मत वदर हुने आशंका बढेको एमाले जिल्ला सचिवालय सदस्य विमल जोशी बताउँछन् ।
उनले एउटै क्षेत्रमा एमाले र माओवादीका उम्मेदवारलाई मत दिनुपर्ने भएका कारण बदर मतको संख्या बढि हुनसक्ने आशंका गरे ।
माओवादी नेता हरि श्रीपाइली पनि बाम गठबन्धनबाट एउटै क्षेत्रमा प्रतिनिधि सभामा एमाले वा प्रदेश सभामा माओवादी केन्द्रका उम्मेदवार रहेको अवस्थामा मतदातालाई मतदान गर्न गाह्रो हुनसक्ने बताउँछन् ।
कैलालीमा प्रतिनिधि सभा सदस्यका लागि ५ र प्रदेशसभाका लागि १० सीट छन् । एउटै क्षेत्रमा प्रदेश सभा १ र २ मा फरकफरक पार्टीका उम्मेदवार छन् । कैलाली ३ को क मा माओवादी र ख मा एमालेको उम्मेदवार छन् ।
कैलाली क्षेत्र नम्बर १, २ र ५ मा प्रतिनिधि सभामा एमाले, प्रदेश १ मा एमाले र २ मा माओवादी उम्मेदवार छन् । त्यस्तै, क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा माओवादी र दुवै प्रदेशमा एमालेका उम्मेदवार चुनावी मैदानमा छन् ।
हामीले धेरै ठाउँमा मतदाता शिक्षाका लागि आफ्नै कार्यकर्ता खटाएका छौं, तर कत्तिको प्रभावकारी हुन्छ त्यो परिणाम घोषणा गर्दा थाहा हुन्छ एमालेका जिल्ला अध्यक्ष तथा कैलाली क्षेत्र नम्बर ४ प्रदेशसभा १ का उम्मेदवार दीर्घ सोडारीको भनाई छ ।
धेरै ठाउँमा तालमेल भएको छ भन्दा सूर्य र गोलाकार भित्रको हसिया हतौडा दुवै चिन्हलाई भोट हाल्ने भन्ने बुझाई पनि रहेछ एमालेका जिल्ला निर्वाचन समितिका संयोजक दीर्घ जोशीले भने– ‘हामीले त्यस्ता मतदातालाई प्रत्यक्ष उम्मेदवार नभएको पार्टीको चुनाव चिन्ह मतपत्रमा नहुने बताएका छौं ।’
प्रत्यक्षमा भन्दा समानुपातिकमा अझ बढी मत वदर हुने चिन्ता पनि गठबन्धनलाई छ । समानुपातिका मतपत्रमा दुईवटै दलका मतपत्र हुने भएकोले मतदाताले दुईवटै चिन्हमा मत संकेत गर्छन कि भन्ने डर छ एमालेबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार लक्ष्मी चौधरी बताउँनुहुन्छ । मतदाता शिक्षा चलाउँदा दुईवटै पार्टीका कार्यकर्तासँगै हुने भएकोले त्यतिबेला फलानो चिन्हमा मत संकेत गर्नु भन्न पनि दुवै पक्षलाई गाह्रो भएको पाइएको छ ।
लोकतान्त्रिक गठबन्धनबाट भने कैलाली जिल्लाभर कांग्रेसका उम्मेदवार मात्र प्रतिनिधिसभा र प्रदेशसभामा उठाइएकोले मत वदर हुने सम्भावना कम छ । समानुपातिकमा भने सो गठबन्धनलाई पनि मत वदर हुने हो कि भन्ने चिन्ता छ । समानुपातिकमा काँग्रेस, राप्रपा र राप्रपा (प्रजातान्त्रिक) ले आफ्नो ढंगले मत मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्