६ कार्तिक २०८१, मंगलवार

प्रधानमन्त्रीद्वारा भयमुक्त भएर मतदान गर्न आह्वान



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गरेर अराजक तत्त्वहरूले देशका विभिन्न भागमा गराइरहेको बिस्फोटका घटना निन्दनीय भएको बताएका छन् ।
धनगढीमा शुक्रबार सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित नहुने बताए ।
उनले कतिपय स्थानमा भएका बिष्फोटनका घटनामा संलग्नहरूलाई सरकारले नियन्त्रणमा लिइसकेको बताए । ‘सरकारले यस्ता अराजक तत्त्वरूलाई कुनै पनि हालतमा छोड्दैन’ उनले आम मतदातालाई निर्भयपूर्वक मतदान गर्न आह्वान गरे ।
प्रधानमन्त्री देउवाले सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन कुनै कसर बाँकी नराखेको बताए ।
यसैबीच, प्रधानमन्त्री देउवाले शुक्रबार नै प्रदेश नम्बर ७ का डोटी र अछामका चार ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् ।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउावले डोटीको बोगटान र सायल तथा अछामको मंगलसेन र साँफेबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।
‘नेपाली काँग्रेसले सधैं जनतालाई मालिक मान्दछ’ अछामको सदरमुकाम मंगलसेनमा आयोजित सभामा प्रधानमन्त्री देउवाले भने– ‘काँग्रेसले नै नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने क्रान्तिको नेतृत्व गरेको हो ।
उनले भने– ‘तपाईंहरू काँग्रेसलाई जिताउनुहोस्, यो प्रदेशको तीब्र आर्थिक समृद्धिको जिम्मेवारी म लिन्छु ।’ उनले मंगलसेनदेखि चिसापानीसम्मको बहुप्रतिक्षित द्रुत मार्गको निर्माण कार्य छिट्टै पुरा हुने बताए ।
यस्तै, डोटीको बोगटान गाउँपालिका चमराचौतामा भएको चुनावी सभामा प्रधानमन्त्री देउवाले सहजपुर–बोगटान–दिपायल द्रुत मार्ग छिट्टै कालोपत्रे गरी सो मार्गको नाम सिद्धराज ओझा मार्ग नामाकरण गरिने घोषणा गरे ।
सभामा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार वीरबहादुर बलायर, प्रदेश सभा सदस्य उम्मेदवार योगन्द्रबहादुर शाही, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, सिखर नगर प्रमुख सीताराम जोशी, बडिकेदार गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्द, लक्ष्मीराज पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी अछामको साँफेबगरमा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले विकासको गतिलाई तीब्र बनाइने बताए ।
सभामा अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरतकुमार स्वाँर, प्रदेश सभा सदस्यका उम्मेदवारद्वय मेघराज खड्का र टेकबहादुर साउँद, पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्व राजदूत बलबहादुर कुँवर, नेता नैनसिंह केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मंसिर १६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार