१४ कार्तिक २०८१, बुधबार

अरू जिल्लामा पुग्दै नेताकार्यकर्ता



धनगढी । पहिलो चरणको निर्वाचन भइसकेका प्रदेश नम्बर ७ का जिल्लाका विभिन्न दलका नेता, उम्मेदवार तथा कार्यकर्ता चुनावी प्रचारपसारका लागि अरू जिल्लामा पुग्ने क्रम बढेको छ ।
प्रदेश नम्बर ७ मा पहिलो चरणमा बाजुरा, बझाङ, दार्चुला र बैतडीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन भइसकेको छ ।
दोस्रो चरणमा आगामी २१ गते कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाममा निर्वाचन हुँदै छ ।
दार्चुलाबाट काँग्रेस नेता दिलेन्द्रप्रसाद वडू, प्रतिनिधि सभा सदस्य उम्मेदवार बिक्रमसिंह धामी, बझाङका काँग्रेस सभापति पृथ्वीबहादुर सिंह, नेता नरेश बहादुर सिंह लगायतका नेताहरू चुनावी प्रचारप्रसारका लागि कैलाली र कञ्चनपुर आइपुगेका छन् ।
त्यस्तै, एमाले बझाङका अध्यक्ष दिलबहादुर सिंह, पुर्वमन्त्री भानुभक्त जोशी लगायत एमाले नेता कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि धनगढीमा आइपुगेका छन् ।
बैतडीबाट पनि विभिन्न पार्टीका नेताकार्यकर्ताहरू आ–आफ्नो पार्टीको पक्षमा मत माग्न डडेल्धुरा आइपुगेका छन् ।
बैतडीका बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर भण्डारी, लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नरबहादुर चन्द्र, बाम गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार प्रेमप्रकाश भट्ट लगायतका नेता र कार्यकता डडेल्धुरा आएका छन् ।
बिहीबार पूर्व राज्यमन्त्री भण्डारीले डडेल्धुराका विभिन्न स्थानमा भएका कार्यक्रममा भाग लिएका थिए ।
त्यस्तै, कांग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले पनि डडेल्धुराका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी भए । दुवै गठबन्धनका नेताहरू चुनावी सभामा भाग लिन शुक्रबार कञ्चनपुर पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार