काँग्रेसद्वारा चुनावी प्रचारप्रसार तीब्र
धनगढी । मतदानको दिन नजिकिदै गर्दा नेपाली काँग्रेसले चुनावी प्रचारप्रसारलाई व्यापक बनाउँदै लगेको छ । कैलालीमा पनि चुनावी कार्यक्रम तीब्र बनेका छन् ।
यस क्रममा बिहीबार कैलाली क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा चुनावी सभा, घरदैलो तथा अन्तरक्रिया भएका छन् ।
धनगढीमा मल्लिकार्जुन दार्चुला सेवा समिति परिवार, लोकतान्त्रिक निर्माण व्यावसायी संघ, कैलाली र कैलाली बझाङ लोकतान्त्रिक समाजले प्रतिनिधि सभा सदस्य उम्मेदवारसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरे ।
मल्लिकार्जुन दार्चुला सेवा समाजले आयोजना गरेको कार्यक्रममा नेतृ डाक्टर आरजु राणा देउवाले काँग्रेस सधै लोकतन्त्र, राष्ट्रियता र आर्थिक समृद्धिका लागि कटिवद्ध भएको चर्चा गरिन् ।
उनले संविधानमा उल्लेख गरिएका सबैका हकअधिकारको कार्यान्वयनका लागि लोकतान्त्रिक शक्तिको जीत आवश्यक रहेको बताइन् ।
काँग्रेस नेता दिलेन्द्रप्रसाद वडूले अहिलेको निर्वाचन शान्ति, स्थिरता र समृद्धि रोज्ने वा अशान्ति, अस्थिरता तथा अविकास रोज्ने भन्ने जनमत संग्रह भएको चर्चा गरे ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जनककुमारी कुँवर तथा काँग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्राध्यापक गणेशप्रसाद जोशीले स्वागत गरेका थिए ।
त्यसैगरी, लोकतान्त्रिक निर्माण व्यावसायी संघ, कैलालीद्वारा आयोजित कार्यक्रममा नेतृ देउवाले स्थानीय तथा साना निर्माण व्यावसायीले बढी लाभ पाउने गरी टेण्डर आह्वान प्रक्रियामा सुधार गर्नुपर्ने चर्चा गरिन् ।
‘सरकारको ठेक्कापट्टा आह्वान प्रक्रिया नै गलत छ’ उनले कसैले बारम्बार काम पाउने र कसैले लामो समयसम्म काम नपाउने खालको विभेदको अन्त्य आवश्यक रहेको बताइन् ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष बब्लुकुमार चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा निर्माण व्यावसायी चन्द्रशेखर मल्ल, हरिप्रसाद भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
निर्माण व्यावसायी संघ, कैलालीका पूर्व अध्यक्ष किशोर ठकुराठीले सञ्चालन गरेको कार्यक्रममा संघका सचिव यज्ञप्रसाद उपाध्यायले स्वागत गरेका थिए ।
त्यस्तै, कैलाली बझाङ लोकतान्त्रिक समाजको आयोजनामा भएको कार्यक्रममा उनले आसन्न निर्वाचनमार्फत कस्तो खालको शासन स्थापना गर्ने भन्नेमा सजग र सचेत रहन सबैमा आग्रह गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले पनि मन्तव्य व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष धर्मराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नवराज रेग्मीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरतबहादुर सिंहले गरेका थिए ।
यसैगरी बिहीबार नै धनगढी वडा नम्बर १७ का विभिन्न टोलमा चुनावी सभा भएका छन् ।