काँग्रेसको चुनावी सभा : ‘जनताको मत खेर जान दिने छैनौं’
धनगढी । मतदानको समय नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएका छन् ।
दल तथा तिनका उम्मेदवारहरूले घरदैलो, चुनावी सभा, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तीब्र बनाएका छन् ।
बुधबार नेपाली काँग्रेसले कैलाली क्षेत्र नम्बर ५ को धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा चुनावी सभा गरेको छ ।
चुनावी सभामा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार डाक्टर आरजु राणा देउवाले जनताको मतको सधैं सम्मान गरिने बताइन् ।
उनले चुनावी प्रचारप्रसारका क्रममा जनतासमक्ष प्रस्तुत गरिएका विकास योजना तथा प्रतिवद्धता कार्यान्वयन गर्न सधैं कटिवद्ध रहेको बताइन् । ‘काँग्रेसले कहिल्यै पनि जनताको मतलाई खेर जान दिने छैन’ उनले भनिन्– हामी जनताको मतको कुनै पनि कार्यद्वारा अवमूल्यन हुन दिनेछैनौं ।
उनले थारू, जनजाति लगायत पछाडि पारिएका वर्ग समुदायको हकहितका लागि विशेष कार्यक्रम लागू गरिने बताइन् । उनले जाली सामुदायिक वनभित्र रहेका सात वटा ताल र मन्दिरलाई जोडेर पर्यटकीयस्थल बनाइने बताइन् ।
सो अवसरमा मानवअधिकारका लागि एकल महिला सञ्जालका क्षेत्रीय अध्यक्ष तथा एमाले नेतृ सुमन अधिकारी लगायत एमाले र माओवादी केन्द्र परित्याग गरी चार सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
चुनावी सभामा कैलाली क्षेत्र नम्बर ५ (ख) र (क) प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्त र जीवनकुमारी राना लगायतको सहभागिता रहेको थियो ।