१० कार्तिक २०७८, बुधबार

समाचार सम्प्रेषणमा आचारसंहिताको पालना गर्न आग्रह



धनगढी । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
उनले पत्रकारहरूलाई स्वतन्त्र, निष्पक्ष र सन्तुलित ढंगबाट भूमिका निर्वाह गर्ने उचित वातावरण निर्माणका लागि राजनीतिक दल, प्रशासन लगायत सबै पक्ष गम्भीर हुन पनि आग्रह गरे ।
धनगढीमा मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको आम सञ्चार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले पत्रकारलाई भयरहित वातावरणमा समाचार संकलन गर्नका लागि आवश्यक सुरक्षा मिलाउन सम्बन्धित निकायलाई अनुरोध गरे । उनले लोकतन्त्रलाई जीवन्त राख्ने प्रमुख आधार निर्वाचन भएकाले यसलाई सञ्चार क्षेत्रले अझ गम्भीर ढंगले लिनुपर्ने बताए ।
उनले अबको हाम्रो अभियान निष्पक्ष, भयरहित विवेकको आधारमा मतदान गर्ने परिस्थितिको सिर्जना गर्दै मतदातालाई मतदान स्थलसम्म पुर्‍याउन पत्रकारको अपरिहार्य आधार रहेको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नका लागि काम भइरहेको र दुई सय ३१ मतदान स्थललाई वर्गीकरणको आधारमा छुट्याएर सुरक्षा व्यवस्था मिलाइएको बताए ।
उनले कैलालीमा ७७ वटा मतदान स्थललाई अतिसंवेदनशील, एक सय १७ लाई संवेदनशील र ३७ मतदान स्थललाई सामान्य भनेर वर्गीकरण गरिएको बताए ।
उनले भने– ‘विभिन्न आधारमा हामीले कैलालीका सबै मतदान केन्द्रको सुरक्षाका दृष्टिले वर्गीकरण गरेका छौं, तर यसको अर्थ सामान्य भनिएका मतदान स्थलमा सुरक्षा लापरबाही गर्ने भन्ने होइन ।’
उनले कैलाली सुरक्षा चुनौतिका दृष्टिले मुलुकका बढी संवेदनशील जिल्लामध्येको एक भएको बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले सुरक्षा संवेदनशीलताका आधारमा सबै मतदान स्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
उनले केही स्थानमा नेपाली सेनाले अस्थायी बेस क्याम्प बनाइरहेको र २२ ठाउँमा सशस्त्र प्रहरीले बेस क्याम्प स्थापना गरिरहेको जानकारी दिए ।
उनले निर्वाचनमा कर्मचारी खटाउनेबारे कुनै पनि किसिमको गुनासो आउन नदिन यस पटक चिठ्ठाका आधारमा कर्मचारी छनोट गरी पठाइएको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख (एसपी) विनोद घिमिरेले पत्रकारलाई सुरक्षित ढंगबाट निर्वाचन सम्बन्धी रिपोर्टिङ गर्ने वातावरण निर्माण गर्न नेपाल प्रहरी गम्भीर रहेको बताए । उनले कैलालीमा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।
कार्यक्रममा कैलाली बार एसोसिएसनका सचिव हिमालयबिक्रम विष्ट, नेपाली काँग्रेसका जिल्ला सदस्य नृपबहादुर सुनार, नेपाल पत्रकार महासंघका पूर्व सुदूरपश्चिम संयोजक मनमोहन स्वाँर र कर्ण शाह, पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, वीरेन्द्र रावल, शिवराज भट्ट, टंक कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महासंघका जिल्ला अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टंक कुँवरले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव हिमाल जोशीले गरेका थिए ।
कार्यक्रममा महासंघ कैलालीले उपाध्यक्ष पोखरेललाई स्वागत तथा सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्