१२ श्रावण २०८१, शनिबार

पहिलो चरणको निर्वाचन : अझै केही स्थानका मतपेटिका आइपुगेनन्



धनगढी । प्रदेश नम्बर ७ का चार जिल्लामा भएको पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सदस्य निर्वाचनको मतदान भएको दुई दिन भइसक्दा पनि सबै स्थानको मतपेटिका अझै सदरमुकाम पुग्न सकेका छैनन् ।
७ नम्बर प्रदेशको बैतडी, बझाङ, बाजुरा र दार्चुलामा पहिलो चरण अन्तर्गत आइतबार मतदान भएको थियो । बैतडी र बाजुराको सबै स्थानको मतपेटिक जिल्ला सदरमुकाम पुगिसकेको पनि दार्चुला र बझाङको सबै मतदान केन्द्रबाट मतपेटिक अझै सदरमुकाम पुग्न नसकेको क्षेत्रीय प्रशासन कार्यालय दिपायलले जानकारी दिएको छ ।
क्षेत्रीय प्रशासन कार्यालयका अनुसार मतपेटिका संकलनका लागि ठूलो हेलिकोप्टरको आवश्यक परेको हुँदा बझाङको एक र दार्चुलाको १५/१६ वटा मतदान केन्द्रको मतपेटिका अझै पुग्न बाँकी रहेको छ ।
मतपेटिका संकलनको काम मतदान सम्पन्न लगत्तै शुरु भए पनि अझै सबै मतदान केन्द्रको मतपेटिक संकलन हुन नसकेको जनाइएको छ । संकलित मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रणमा र व्यवस्थापनमा राखिएको छ ।
मतपेटिकालाई मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।
यस प्रदेशका चार जिल्लामा ६६ दशमलब ४८ प्रतिशत मतदान भएको थियो । यस प्रदेशको चार जिल्लामा तीन लाख ८४ हजार नौ सय ३५ मतदाता रहेकोमा दुई लाख ५५ हजार नौ सय ३० जनाले मतदान गरेका छन् । बाजुरामा ६९ हजार आठ सय ३४ मतदाता रहेकोमा ५३ हजार दुई सय १३ (७६ दशमलब २० प्रतिशत) मत खसेको छ । दार्चुलामा ७८ हजार पाँच सय १२ मतदाता रहेकोमा ५९ हजार चार सय १४ (७५ दशमलब ६७ प्रतिशत) मत, बैतडीमा एक लाख ३२ हजार तीन सय १७ मतदाता रहेकोमा ७६ हजार तीन सय ४३ (५७ दशमलब सात प्रतिशत) मत र बझाङ एक लाख चार हजार दुई सय ७५ मतदाता रहेकोमा ६६ हजार नौ सय ५९ (६४ दशमलब २१ प्रतिशत) जनाले मतदान गरेका छन् ।

मंसिर १२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार