१२ श्रावण २०८१, शनिबार

काँग्रेस र राप्रपाको संयुक्त आमसभा : नेताहरूले उद्घोष गरे– लोकतन्त्र, राष्ट्रियता र समृद्धिका लागि सहकार्य



अत्तरिया । चुनावमा सहकार्य गरिरहेका नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त आयोजनामा सोमबार कैलालीको क्षेत्र नम्बर ४ अत्तरियामा बृहत संयुक्त चुनावी सभा भएको छ ।
सभामा दुवै पार्टीका केन्द्रीय नेताहरूले लोकतन्त्र, राष्ट्रियता तथा तीब्र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक शक्तिहरूबीच एकता र सहकार्य भएको उद्घोष गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले आसन्न निर्वाचनमा किन र कसलाई मत दिने भन्नेमा गम्भीरतापूर्वक मनन् गर्न आम नेपाली मतदातालाई आग्रह गरे । ‘यो निर्वाचन आगामी पाँच वर्षसम्म कुन पार्टीलाई शासनसत्तामा पुर्‍याउने भन्ने मात्रै होइन’ उनले भने– ‘यो आगामी दिनमा नेपालमा कुन शासन प्रणाली राख्ने भन्ने निर्वाचन हो ।’ उपप्रधानमन्त्री थापाले आसन्न निर्वाचन लोकतान्त्रिक पक्षधर शक्ति तथा कम्युनिष्ट गठबन्धनबीचको छनोट भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले नेपालको लोकतान्त्रिक राज्य प्रणाली, राष्ट्रियता र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक मोर्चा निर्माण भएको बताए ।
उनले नेपाली काँग्रेससहितको लोकतान्त्रिक शक्तिहरूले हिमाल, पहाड र मधेसलाई जोडेर अविभाजित तथा अखण्ड नेपालको निर्माणका लागि निरन्तर प्रयास गरिरहेको बताए ।
उनले नेपाल जस्तो जातीय, धार्मिक, सांस्कृतिक, भाषिक तथा क्षेत्रीय विविधताको रक्षा लोकतान्त्रिक प्रणाली र शक्तिहरूबाट मात्र सम्भव भएको चर्चा गरे ।
नेता खाँडले प्रदेश नम्बर ७ को तीब्र आर्थिक समृद्धिका लागि नेपाली काँग्रेसको नेतृत्वमा अत्तरिया–मोहना छ लेन सडक, कैलाली–दिपायल फाष्टट्रयाक सडक, महाकाली नदीमा पक्की पुल, गौरीफन्टा नाकाको स्तरोन्नती, गेटा मेडिकल कलेज, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नती, दोधराचाँदनीमा सुख्खा बन्दरगाह, उत्तरदक्षिण सडक लगायतका योजना अघि बढिरहेको बताए ।
कार्यक्रममा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजु राणा देउवा, क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारी, प्रदेश सभा सदस्य उम्मेदवार हिरादत्त भट्ट लागयतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राप्रपाका छत्र शाहीले गरेका थिए ।

मंसिर १२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार