६ कार्तिक २०८१, मंगलवार

प्रदेश नम्बर ७ को आर्थिक विकासले तीब्र गति लिँदैछ– डाक्टर आरजु



धनगढी । नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले प्रदेश नम्बर ७ (सुदूरपश्चिम) मा आर्थिक विकासको गति तीब्र बन्ने बताएकी छिन् ।
कैलाली क्षेत्र नम्बर ५ बाट काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर देउवाले प्रदेश नम्बर ७ को तीब्र आर्थिक विकासको नेतृत्व काँग्रेसले गर्ने बताइन् ।
शनिबार नेपाली काँग्रेस कैलालीले धनगढीमा आयोजना गरेको अन्तरक्रियामा नेतृ डाक्टर आरजुले खुटिया दिपायल द्रुत मार्ग, गौरीफन्टा सीमानाकाको स्तरोन्नती, सेती अञ्चल अस्पताललाई तीन सय सैय्यासहितको सुविधासम्पन्न क्षेत्रीय अस्पतालमा रूपान्तरण, धनगढी उपमहानगरपालिका व्यवस्थित र आधुनिकीकरण लगायतका विकास योजना अघि बढिसकेको बताइन् ।
उनले कृषि, वन पैदावार, जडिबुटी, जलस्रोत र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर कैलाली लगायत प्रदेश नम्बर ७ को विकासको दीर्घकालीन विकास योजना बनाइने बताइन् ।
नेतृ डाक्टर देउवाले प्रदेश नम्बर ७ को तीब्र आर्थिक विकासका लागि काँग्रेसको जीत आवश्यक रहेको बताइन् ।
सो अवसरमा प्रतिष्ठित उद्योगपति विनोदकुमार चौधरीले तीब्र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक शक्तिको जीत आवश्यक रहेको बताए ।
कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार सुनीलकुमार भण्डारीले लोकतन्त्र तथा पछिल्ला राजनीतिक उपलब्धीको रक्षाका लागि काँग्रेसको विजयी आवश्यक रहेको चर्चा गरे ।
नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु) को अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद तथा पूर्व सांसद उमेश श्रेष्ठ, क्षेत्र नम्बर ५ का प्रदेश सभा सदस्य (ख) उम्मेदवार डिल्लीराज पन्त, प्रदेश सभा सदस्य (क) उम्मेदवार जीवन राना, पूर्व सांसद प्यारेलाल राना, राप्रपाका जिल्ला अध्यक्ष जनक कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

काँग्रेसद्वारा चुनावी प्रचारप्रसार व्यापक बनाइँदै
नेपाली काँग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रमा चुनावी प्रचासप्रसार तीब बनाएको छ । काँग्रेसले विभिन्न स्थानमा घरदैलो, कोणसभा, चुनावी सभा, अन्तरक्रिया लगायतका कार्यक्रम व्यापक बनाएको छ ।
यस क्रममा शनिबार कैलालीको क्षेत्र नम्बर ४ मा नेपाल शिक्षक संघ, कैलाली क्षेत्र नम्बर ४ को आयोजनामा अत्तरियामा नेपाली काँग्रेस कैलालीका क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरूसंग अन्तक्र्रिया भएको छ ।
सो अवसरमा नेपाली काँग्रेसका नेता सुनीलकुमार भण्डारीले लोकतन्त्र समाप्त पार्ने र मुलुकलाई अस्थिर बनाउने षड्यन्त्रबाट देशीविदेशी तत्वहरूको चलखेल भइरहेको चर्चा गरे ।
उनले बाम गठबन्धन सत्तास्वार्थको परिणाम निर्माण भएको बताए । उनले नेपालमा राजनीतिक अस्थिरता र द्वन्द्व बढाउन तथा लोकतन्त्र कमजोर बनाउने दुस्प्रयास भइरहेको बताए ।
उनले संविधानमा सबै जातजाति, क्षेत्र, वर्ग र समुदाय, धार्मिक समुदाय लगायतको अधिकार सुनिश्चित भएकोले लोकतन्त्र पक्षधरको जीत आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य ख का उम्मेदवार हिरादत्त भट्टले अहिले लोकतन्त्र रहने वा नरहने भन्ने प्रश्न उठेकोले शिक्षकहरूले अझ बढी जिम्मेवार र गम्भीरका साथ भूमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रदेश सभा सदस्य ख का उम्मेदवार यज्ञराज चौधरी आफूले मजदूर क्षेत्रबाट जीवनपर्यन्त ट्ेरड युनियनमा प्रतिनिधित्व गरेको चर्चा गरे ।
कार्यक्रम संघका क्षेत्रीय अध्यक्ष वीरबहादुर खत्रीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शिक्षक संघ कैलालीका अध्यक्ष गणेशप्रसाद ओझा, पूर्व अध्यक्ष गिरिराज कडायत, निवर्तमान अध्यक्ष भूपालसिंह खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष राजेन्द्र खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कर्ण कुँवरले गरेका थिए ।
त्यस्तै, नेपाली काँग्रसले कैलालीको क्षेत्र नम्बर ३ का विभिन्न स्थानमा शनिबार चुनावी सभा गरेको छ ।
यस क्रममा घोडाघोडी नगरपालिका वडा नम्बर ६ र १० का विभिन्न वस्तीमा घरदैलो, कोणसभा तथा चुनावी सभा भएका छन् ।
वडा नम्बर ६ का अस्नेरा, बसन्ता बन्द्रखाल मुक्त कमैया शिविर, बछुरिया, गुदनिया, राजिकुना, पर्तीखेत लगायतका ठाउँमा कार्यक्रम भएका छन् ।
सो अवसरमा काँग्रेसका कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजनम चौधरीले क्षेत्रको समग्र आर्थिक विकासका लागि काँग्रेस तथा आफू कटिवद्ध भएको चर्चा गरे ।
उनले बौराहा र जोकाहा नदीमा पुल निर्माण गरिने, सडक सञ्जालको विस्तार, खानेपानी, सिंचाईं, विद्युत, शिक्षा तथा स्वास्थ्य सेवाको द्रुत विकास र विस्तार गरिने बताए । उनले रोजगारी सिर्जनाका लागि उद्योग कलकारखानाको स्थापनाका लागि विशेष पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार