११ श्रावण २०८१, शुक्रबार

‘म सुदूरपश्चिमकी बुहारी हुँ’ डाक्टर आरजु



धनगढी । नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी छन् । उनले कैलालीसहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम) को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको बताइन् ।
‘मलाई काठमाडौं, बाँके, बर्दिया सहित धेरै ठाउँबाट चुनाव लड्न अनुरोध आएका थिए’ कैलाली क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर देउवाले मंगलबार धनगढी उपमहानगरपालिको वडा नम्बर ३ का बडहरा, विशालनगर, मसानटोल, चटकपुर लगायतका स्थानमा आयोजित चुनावी सभामा भनिन्– तर, मैले कैलाली रोजे ।
उनले काँग्रेसले नै सुदूरपश्चिमलाई राजधानीसंग प्रत्यक्ष सम्पर्क स्थापित गराएको चर्चा गरिन् । ‘२२ पुलको निर्माणपछि नै सुदूरपश्चिमको राजधानीसंग प्रत्यक्ष सम्पर्क स्थापित भएको हो’ उनले सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, मेडिकल कलेज, गेटा विमानस्थलको विस्तार लगायतका कार्य काँग्रेस नेतृत्वको सरकारका कारण मात्रै सम्भव भएको बताइन् ।
नेतृ राणा देउवाले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर आयोजना, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नती, गौरीफन्टा नाको स्तरोन्नती, एक वर्षभित्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्र लगायत सुुदूरपश्चिमको तीब्र आर्थिक विकासका प्रमुख आधारका रूपमा रहेका योजनाहरू काँग्रेसले नै अघि बढाउने बताइन् ।
नेतृ राणा देउवाले सेती अञ्चल अस्पताललाई तीन सय सैय्याको क्षेत्रीय अस्पतालका रूपमा विकास गरिने तथा कैलालीमा रसायनिक मल उद्योग स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले लोकतन्त्रको स्थापना, संविधान सभाबाट संविधानको निर्माणको नेतृत्व गरेको काँग्रेसले संविधाको पूर्ण कार्यान्वयन तथा मुलुकको द्रुत आर्थिक समृद्धि पनि काँग्रेसले नै गर्ने चर्चा गरे ।
चुनावी सभामा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, वडा सभापति दीपेन्द्रबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

द्रुत विकासका लागि काँग्रेसको जीत आवश्यक
अत्तरिया । नेपाली काँग्रेसका नेता सुनीलकुमार भण्डारीले द्रुत आर्थिक विकासका लागि नेपाली काँग्रेसको जीत आवश्यक रहेको बताएका छन् ।
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेता भण्डारीले सुदूरपश्चिमको मूलद्वार रहेको अत्तरियालाई नमुना शहरका रूपमा विकास गर्न आफू प्रतिवद्ध रहेको बताए ।
चुनावी प्रचारप्रसारका क्रममा मंगलबार अत्तरिया बजारमा आयोजित घरदैलो कार्यक्रममा सहभागी नेता भण्डारीले उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य, पर्यटन, अन्नबाली, फलफूल तथा तरकारी र बन पैदावार तथा जडिबुटीको प्रचूर सम्भावना रहेको कैलालीको क्षेत्र नम्बर ४ को दीर्घकालीन योजनाका साथ विकास गरिने बताए ।
उहाँले कैलाली र डोटी जोड्ने दु्रतमार्ग निर्माणलाई तीब्र बनाइने तथा किसान, दलित, युवा, महिला, आदिवासी जनजातिको हितलाई दृष्टिगत गरी प्रभावकारी योजना सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार