३ आश्विन २०८१, बिहीबार

राप्रपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय



टीकापुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कैलालीमा काँग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर १ मा मंगलबार बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई सघाउने तथा कांग्रेसका उम्मेदवारहरूसंगै जनताको घरदैलोमा भोट माग्न जाने निर्णय गरेको जनाइएको छ ।
क्षेत्रीय अध्यक्ष मानसिंह साउँदको अध्यक्षतामा भएको बैठकमा राप्रपाका केन्द्रीय सदस्य रामदुलारी चौधरीले लोकतन्त्रको रक्षाका लागि पार्टीको विचारभन्दा माथि उठेर काम गर्नुपर्ने बताइन् ।
सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतन्त्रवादी दल एकजुट हुनैपर्ने बताए ।
त्यस्तै, कैलालीको क्षेत्र नम्बर ३ मा पनि राप्रपाले काँग्रेसलाई सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार कैलालीको क्षेत्र नम्बर ३ को सुखडमा भएको एक कार्यक्रम राप्रपा प्रदेश सभा ख का उम्मेदवार देवेन्द्रबहादुर मल्लले आफ्नो उम्मेदवारी फिर्ता लिएर काँग्रेसका उम्मेदवार लक्ष्मण शाहीलाई सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा राप्रपाका सहमहामन्त्री चन्द्रबहादुर गुरुङले लोकतन्त्र तथा नागरिक स्वतन्त्रताको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई अझैं बलियो बनाउनु पर्ने बताए ।
नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गोविन्दराज जोशीले लोकतन्त्र नै संकटमा परेको वेला लोकतान्त्रिक एकता मजबुत बनाउन आग्रह गरे ।
राप्रपाका जिल्ला अध्यक्ष होमबहादुर गुरुङले पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्लामा काँग्रेसका उम्मेदवारहरूलाई सहयोग गर्ने निर्णय भएको बताए ।

कात्तिक ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार