१२ श्रावण २०८१, शनिबार

१२ सय भन्दा बढी कैदी अझै फरार



धनगढी । कैलाली जिल्ला अदालतले सजाय सुनाएका १२ सय भन्दा बढी कैदी अझै फरार अवस्थामा रहेका छन् । कैदीबन्दीबाट सात करोड रुपैयाँ बढी असुल गर्न पनि बाँकी रहेको छ ।
जिल्ला अदालत कैलालीका अनुसार फरार कैदीबन्दीले साढे १६ सय वर्षभन्दा बढी कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ । फरार रहेकालाई पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएपनि न्यून सख्यामा मात्रै पक्राउ पर्ने गरेका छन् ।
जिल्ला अदालत कैलालीका अनुसार गत आर्थिक वर्ष २०७३/७४ मा एक हजार दुई सय ७० कैदीबन्दी रहेकोमा चालु आर्थिक वर्षमा ३३ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । ‘३३ जना फरार कैदीबन्दीलाई पक्राउ गरेपछि अझै जिल्ला अदालतबाट सजाय सुनाइएका एक हजार दुई सय ३७ जना कैदीबन्दी अझै फरार रहेका छन’ कैलाली जिल्ला अदालतका स्रेस्तेदार ईन्द्रबहादुर कठायत भने– ‘एक हजार दुई सय ३७ जना फरार कैदीबन्दीबाट ६ करोड ७३ लाख १७ हजार ६ सय जरिवाना असुल गर्न बााकी रहेको छ ।’ गत वर्षमा ४४ लाख ७५ हजार ३९ रुपैयाँ असुल गर्न बाँकी छ ।
फरार कैदीले भुक्तान गर्नुपर्ने १७ सय १६ वर्ष ६ महिनामा ७९ बर्ष २ महिना १८ दिन भुक्तान गरिसकेको र अब १६ सय ३६ वर्ष ५ महिना १२ दिन फरार कैदीबन्दीले सजाय भुक्तान गर्न बाँकी रहेको स्रेस्तेदार कठायतले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले भने आफूहरूले फरार कैदीबन्दीहरूको खोजी कार्य जारी राखेको जनाएको छ । कैलाली जिल्लाका फरार कैदिहरूलाई आफूहरूले पक्राउ गर्न प्रयत्न गरिरहेको र अन्य जिल्लाका व्यक्तिले कैलालीमा आइ अपराध गरेको भएमा अन्य जिल्लाका प्रहरीहरूसंग समन्वय गरेर उनीहरूलाइ पक्राउ गर्न कोसिस गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका बिनोद घिमिरेले जनाएको छ ।
फरार कैदीबन्दीहरूलाइ पक्राउ गर्नकै लागि अपराध अनुसन्धान शाखामा पाँच जनाको एउटा छुट्टै टोली बनाएर परिचालन गरिएको छ । तरपनि, केही कैदीबन्दीहरूलाइ पक्राउ गर्न सफल हुने गरेको र धेरै जसो कैदीबन्दीहरू बसाइसराई, बाहिरी जिल्लाका व्यक्तिले कैलालीमा आएर अपराध गर्नु जस्ता कारणले गर्दा पक्राउ गर्न समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख घिमिरेले बताए ।

मंसिर ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार