१ आश्विन २०८१, मंगलवार

उसु प्रतियोगिता समापन



धनगढी । कैलालीको धनगढीमा भएको दोस्रो सुदूर तथा मध्यपश्चिम विकास क्षेत्रस्तरीय उसु प्रतियोगिता सोमबार समापन भएको छ ।
शेअ उसु क्वानको ११ औं वार्षिकोत्सवको अवसरमा मनेहरामा सञ्चालन भएको उक्त प्रतियोगितामा आयोजक शेअ उसु क्वान प्रथम भएको छ । आयोज शेअ उसु क्वानले १३ स्वर्ण, ३ रजत र ५ कास्य पदक प्राप्त गरि प्रथम बन्न सफल भएको हो ।
यस्तै नौ स्वर्ण, नौ रजत र पाँच कास्य पदक प्राप्त गरी कैलाली उसु क्वान दोस्रो र दुई स्वर्ण, पाँच रजत र आठ कास्य पदक प्राप्त गरी सुर्खेत उसु क्वान तेस्रो बनेको हो । उनीहरूलाई ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो ।
यस्तै सान्सौ पुरुषतर्फ शेअ उसु क्वानका नविन गाहामगर र महिलातर्फ दिक्षा साउँद उत्कृष्ट बनेका छन् भने पुरुष छाउनुतर्फ रविन चौधरी र महिला तर्फ सम्झना चौधरी उत्कृष्ट बनेका छन् । उनीहरूलाई पाँच/पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै प्रतियोगिता अवधिभर अनुसासित भएको भन्दै पुरुषतर्फ बाँकेका खेलाडी टिकाराज रोकाया र महिलातर्फ सुर्खेतकी एलिना वैगारलाई पुरस्कृत गरिएको छ । उनीहरूलाई नगद दुई/दुई हजार प्रदान गरिएको थियो ।
उत्कृष्ट तथा विजयी टीमहरूलाई क्वानका संस्थापक अध्यक्ष तथा कैलाली क्षेत्र नम्बर ५ मा बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नारदमुनि रानाले वितरण गरेका थिए । उनले समापन कार्यक्रमलाई सम्बोधन गर्दै आफुले खेल र खेलाडीको समस्या बुझेको र उनीहरूको समस्या समाधानका लागि लागि परेको बताए । ‘खेल क्षेत्र सधै मेरो प्राथमिकतामा पर्छ’ उनले अहिले सबै क्षेत्रमा ठूलो सुधार हुँदै गएको भए पनि खेल क्षेत्रमा सोचेजति सुधार हुन नसकेको बताए । उनले खेलाडीहरूलाई नि:शुल्क तालिम, नि:शुल्क शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था गर्न नसकिएको बताए ।
क्वानका अध्यक्ष नारायण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक अम्मरकुमार थिंग, प्रकाशबहादुर लामा, एशिया खेलाडी श्याम विष्ट, प्रशिक्षक राजीव गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
क्वान सल्लाहकार राजेशकुमार खातीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रतन खातीले गरेका थिए ।
शनिबारदेखि शुरु भएको प्रतियोगितामा कैलाली, सुर्खेत, बांके, रुकुम, डोल्पा, जुम्ला लगायतका मध्य र सुदूरपश्चिमका गरी १० टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार