६ कार्तिक २०८१, मंगलवार

‘मेरो लक्ष्य, आम महिलाले मेरैजस्तो सुविधा पाउन सकुन्’



धनगढी । नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले आफ्नो लक्ष्य आम नेपाली महिलाले आफ्नै जस्तो सेवासुविधा पाउन सकुन् भन्ने रहेको बताएकी छन् ।
कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका डाक्टर आरजुले सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का विभिन्न स्थानमा आयोजित चुनावी सभामा महिला, दलित, आदिवासी जनजाति, पिछडिएका वर्ग समुदायको उत्थानका लागि काँग्रेसले नै अहम् भूमिका निर्वाह गरेको चर्चा गरिन् ।
उनले भनिन्– म राम्रो परिवारमा जन्मे, हुर्के । राम्रै सुविधामा बसिरहेकी छु । म चाहन्छु– सबै महिलाले मेरै जस्तो सेवासुविधा र अवसर प्राप्त गर्न सकुन् ।
वडा नम्बर १६ का पिपल चौतारी, रामपुर, घसिटा, विउसाह लगायतका स्थानमा भएका चुनावी सभामा उनले कैलाली लगायत प्रदेश नम्बर ७ को विकास काँग्रेसबाट मात्रै सम्भव भएको बताइन् । ‘तपाईहरू स्वयंले एमाले वा माओवादीलाई सोध्नुहोस् कि पछिल्ला २५ वर्षमा तपाईंहरूले सुदूरश्चिम (प्रदेश नम्बर ७) को विकासका लागि के गर्नुभयो भनेर ?’ उनले भनिन्– यो अवधिमा सुदूरपश्चिममा जेजति विकास भएको छ, त्यो काँग्रेसका कारण मात्रै भएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार जीवन राना, काँग्रेस नेताहरू प्यारेलाल राना, दिब्यश्वरी शाह, टेकबहादुर रैका, गौरी लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सोमबार पनि विभिन्न पार्टी परित्याग गरेर ४५ जना काँग्रेसमा प्रवेश गरेका थिए ।

मंसिर ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार