६ कार्तिक २०८१, मंगलवार

प्रकाश दाहालको निधन



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आइतबार बिहान नर्भिक अस्पताल थापाथली ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको उच्चस्रोतले जनाएको छ । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् । दाहाल झापाको बी एन्ड सी अस्पतालको सातौं तल्लामा रहेको हेलिप्याडबाट छोरी, ज्वाइँसहित काठमाडौं प्रस्थान गरिसकेका छन् ।
छोराको निधन भएको खबरपछि दाहाल आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर काठमाडौं आइपुगेका छन्। प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए ।
२०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् । उनका पोखरा बस्ने श्रीमती सिर्जना छोरासहित नर्भिक अस्पतालमा पुगेकी छिन् । माओवादीले चलाएको सशस्त्र युद्धमा सानैदेखि लागेका दाहाल पार्टी महाधिवेशन आयोजक समिति सदस्य थिए । उनी बुबा पुष्पकमल दाहालको स्वास्थ्य, सुरक्षा र सञ्चार व्यवस्थापनमा खटिँदै आएका थिए ।
दाहालको निधनपछि नर्भिक अस्पताल परिसरमा जम्मा भएका आफन्त, शुभचिन्तक, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहेको छ ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार