३० भाद्र २०८१, आईतवार

राम्रो गर्न नसके पनि नराम्रो गर्नेछैन– एसपी



धनगढी । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले आफू जिल्लामा कार्यरत रहँदा कुनै राम्रो गर्न नसके पनि नराम्रो नगर्ने बताएका छन् । उनले सकभर राम्रो गर्ने प्रयास गर्ने बताए ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरूसंग गरिएको अन्तरक्रियामा प्रहरी उपरीक्षक घिमिरेले सबैको साथ सहयोग रहेमा राम्रो काम गर्ने बताए । उनले भने– तपाईहरू सबैको साथ र सहयोगबाट म केही परिवर्तन गरेर देखाउने छु ।
एसपी घिमिरेले कैलालीमा एक सय एक किलोमिटर क्षेत्रमा खुला सीमाना रहेकाले सुरक्षा चुनौती रहे पनि त्यसको सामना गर्न प्रहरी तयार रहेको बताए ।
प्रहरी उपरीक्षक घिमिरेले तत्कालका लागि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनेमा प्रहरीको सम्पूर्ण ध्यान केन्द्रीत रहेको बताए ।

निर्वाचन आचारसंहिताबो छलफल
क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले आउदो निर्वाचन र पत्रकार आचारसंहिता सम्बन्धी पत्रकारलाई जानकारी दिएको छ ।
कैलालीको धनगढीमा पत्रकारलाई निर्वाचनबारे जानकारी दिंदै क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहनप्रसाद अर्यालले कैलाली जिल्लामा २ सय ३१ मतदानस्थलमा ५ सय ३८ मतदान केन्द्र रहेको जानकारी दिए ।
अर्यालले कैलाली जिल्लामै टीकापुरको वीरेन्द्र विद्या मन्दिरमा सबैभन्दा बढी मतदान स्थल रहेको बताए । वीरेन्द्र विद्या मन्दिरमा यस पटकको निर्वाचनमा ११ वटा मतदान स्थल रहने भएका छन् । कैलाली जिल्लामा ४ लाख ६० हजार ५ सय ७८ जना मतदाता रहेका छन् । टीकापुर नगरपालिकाको वडा नम्बर १ मा मात्रै १९ हजार बढी मतदाता छन् । अर्यालले प्रदेश नम्बर ७ मा १६ वटा निर्वाचन क्षेत्र रहेको बताउँदै समानुपातिक निर्वाचनका लागि मतपत्रमा ८३ वटा राजनीतिक दलका चुनाव चिन्ह रहेको बताए ।
कार्यक्रममा सहजीकरण गर्दै पत्रकार कर्ण शाहले निर्वाचन सम्वन्धी समाचारमा कुनै दल विशेषलाई पक्षपोषण गर्न नहुने र सबै दललाई समान अवसर दिनुपर्ने बताए । उनले रेडियोमा उम्मेदवारले मत माग्ने सूचना प्रतिनिधिसभाका लागि दैनिक ४ पटकसम्म र प्रदेश सभाका उम्मेदवार दैनिक २ पटक भन्दा बढी प्रसारण गर्न नहुने निर्वाचन संहितामा व्यवस्था भएको बताए ।
कार्यक्रममा धनगढी क्षेत्रका पत्रिका र रेडियोका २० जना पत्रकार सहभागी थिए ।

मंसिर ०२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार