६ कार्तिक २०८१, मंगलवार

निर्वाचन आचारसंहितासम्बन्धी जानकारी



धनगढी । क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले आउदो निर्वाचन र पत्रकार आचारसंहिता सम्बन्धी पत्रकारलाई जानकारी दिएको छ ।
कैलालीको लम्कीमा पत्रकारलाई निर्वाचनबारे जानकारी दिंदै क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहनप्रसाद अर्यालले कैलाली जिल्लामा २ सय ३१ मतदानस्थलमा ५ सय ३८ मतदान केन्द्र रहेको जानकारी दिए ।
अर्यालले कैलाली जिल्लामै टीकापुरको वीरेन्द्र विद्या मन्दिरमा सबैभन्दा बढी मतदान स्थल रहेको बताए । वीरेन्द्र विद्या मन्दिरमा यस पटकको निर्वाचनमा ११ वटा मतदान स्थल रहने भएका छन् । कैलाली जिल्लामा ४ लाख ६० हजार ५ सय ७८ जना मतदाता रहेका छन् । टीकापुर नगरपालिकाको वडा नं. १ मा मात्रै १९ हजार बढी मतदाता छन् । अर्यालले प्रदेश नं. ७ मा १६ वटा निर्वाचन क्षेत्र रहेको बताउंदै समानुपातिक निर्वाचनका लागि मतपत्रमा ८३ वटा राजनीतिक दलका चुनाव चिन्ह रहेको बताए ।
कार्यक्रममा सहजीकरण गर्दै पत्रकार एकिन्द्र तिमिल्सिनाले निर्वाचन सम्वन्धी समाचारमा कुनै दल विशेषलाई पक्षपोषण गर्न नहुने र सबै दललाई समान अवसर दिनुपर्ने बताए । उनले रेडियोमा उम्मेदवारले मत माग्ने सूचना प्रतिनिधिसभाका लागि दैनिक ४ पटकसम्म र प्रदेश सभाका उम्मेदवार दैनिक २ पटक भन्दा बढी प्रसारण गर्न नहुने निर्वाचन संहितामा व्यवस्था भएको बताए ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले पत्रकारहरू आस्थाका हिसावले दल नजिक भए पनि कार्यकर्ता जसरी मिडिया र फेसबुकमा एउटै दलको गुणगान गाउन नहुने बताए । कार्यक्रममा लम्की र टीकापुर क्षेत्रका पत्रिका र रेडियोका २७ जना पत्रकार सहभागी थिए ।

कात्तिक २४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार