११ श्रावण २०८१, शुक्रबार

३२ प्रतिशत थारू उम्मेदवार



धनगढी । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लाबाट विभिन्न पार्टीले ३२ प्रतिशत थारू नेतालाई उम्मेदवार बनाएका छन् ।
कैलालीमा एक सय ३७ जना उम्मेदवारमध्ये ४४ जना थारू समुदायका नेता छन् । थारूमा पनि महिला उम्मेदवारको संख्या भने न्यून देखिएको छ । झण्डै ४२ प्रतिशत थारू जनसंख्या रहेको कैलालीमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि ४४ जना थारूले उम्मेदवारी दर्ता गराएका छन् ।
४४ जना थारू उम्मेदवारमध्ये प्रदेशसभाका लागि ३१ र प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सविंधानमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने व्यवस्था रहे पनि कैलालीमा कुल उम्मेदवारको चार प्रतिशत र थारू उम्मेदवारको १५ प्रतिशत मात्रै थारू महिलाले मात्रै टिकट पाएका छन् । कैलाली जिल्लामा ४४ जना थारू उम्मेदवारमध्ये ६ जना महिला छन् ।
कैलालीमा झण्डै आधा जनसंख्या थारू समुदायको भएकोले उनीहरूको प्रतिनिधित्व पनि सोही अनुपातमा हुनुपर्ने धनगढीको वडा नम्बर ५ जाईका साधुराम चौधरीले बताए । थारू लगायत अन्य पिछिडिएको जातिको माग तथा अवस्था स्थानीय नेताले मात्रै बुझ्न सक्ने भएकाले थारू समुदायबाट नेता भए विकास गर्न सजिलो हुने उनको तर्क छ । केन्द्रबाट उम्मेदवार छानिने भएकाले कैलालीमा स्थानीय नेताको उम्मेदवारी कम देखिएको हुनसक्ने उनको अनुमान छ । महिलाको पहुँच कम भएकोले स्थानीय तहको निर्वाचनभन्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा महिलाको सहभागिता धेरै कम देखिएको उनले बताए ।
कैलाली जिल्लामा सबै भन्दा बढी राष्ट्रिय जनता पार्टीले १० जना थारूलाई टिकट दिएको छ । नेपाली कांग्रेसले ६, संघीय समाजवादी फोरम नेपालले ५ र नयाँ शक्ति पार्टीले ४ जना थारूलाई टिकट दिएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, एमाले र माओवादी केन्द्रले ३/३ जना, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चाले २/२ जना थारूलाई टिकट दिएका छन् । त्यसैगरी २ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने विवेकशील साझा पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनसमाजवादी पार्टी नेपालले समान १/१ जना लाई टिकट दिएको छ । विकास गर्न नेतृत्व गर्न सक्ने नेता चाहिने भएकाले जातिगत भन्दा कार्य क्षमता हेरी पार्टीले टिकट दिएको पुर्व सभासद तथा कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधि सभाका उम्मेदवार नारदमुनि रानाले बताए । क्षमता भएका ३ जना थारू नेतालाई आफ्नो पार्टीले टिकट दिएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार