कैलालीमा म्यादी प्रहरीको तालिम शुरु



धनगढी । मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि कैलालीमा भर्ना गरिएका म्यादी प्रहरीको तालिम शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबारदेखि म्यादी प्रहरीको तालिम शुरु भएको छ । जल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले म्यादी प्रहरीको छनोट गरेर तालिम शुरु गरिएको बताए ।
प्रहरी नायव उपरीक्षक बुढामगरका अनुसार आइतबारदेखि भएको तालिम १२ दिनसम्म सञ्चालन हुने छ ।
भर्ना भएका म्यादी प्रहरीको तालिम उनीहरूको पायक पर्ने स्थानमा भइरहेको छ । जिल्लाका टीकापुर, लम्की, सुखड, चौमाला, अत्तरिया, फूलवारी, हसुलिया, भजनी, जोशीपुर, धनगढी र धनगढी गाउँको दुर्गा मन्दिरमा तालिम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा एक हजार छ सय ४८ पुरुष र सात सय ९८ महिला गरी दुई हजार चार सय ४६ जना म्यादी प्रहरी भर्ना गरिएका छन् ।
प्रहरी नायव उपरीक्षक बुढामगरका अनुसार स्थानीय तहको निर्वाचनका बेलाभन्दा अहिले करिब एक हजार म्यादी प्रहरी बढी भर्ना गरिएका छन् ।
गत असारमा भएको स्थानीय तह निर्वाचनमा कैलालीमा एक हजार पाँच सय ३७ जना म्यादी प्रहरी भर्ना गरिएका थिए ।
प्रतिनिधी सभाका लागि पाँच र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र रहेको कैलालीमा थप सुरक्षाका लागि बढी म्यादी प्रहरी भर्ना गरिएको उनले बताए ।

कात्तिक १४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्