३१ भाद्र २०७८, बिहीबार

धनगढीका युवाले बनाए तीन पाँग्रे गाडी



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५, तारानगरका तनमय चौधरीले तीन पाँग्रे गाडी निर्माण गरेका छन् । ‘आर–१ किटक्याट’ नामको सवारी साधन आइतबार धनगढीमा सार्वजनिक गरियो ।
उनले २०७३ साल फागुन २८ गतेबाट सो गाडी निर्माण कार्य शुरु गरेको बताए । उनले चार महिनाको अवधिमा ६० हजार रुपैयाँको लगानीमा सो गाडी निर्माण गरेको बताए । ‘यहाँ गाडी बनाउन कुनै सामान पाइँदैन’ उनले कवाडीमा राखिएका सामान र बिग्रिएका स्कुटीको इञ्जिन प्रयोग गरेर गाडी बनाएको बताए । तनमयले सबै सामान भारतबाट ल्याएर गाडी बनाउँदा करिब एक लाख ५० हजार रुपैयाँ मात्र खर्च हुने बताए ।
तनमयको परिवार आर्थिक रूपले कमजोर रहेको छ । ‘मसंग स्कुलमा पढ्ने बेलामा आफ्नो सवारी साधन थिएन’ उनले भने– ‘त्यसैले पनि म गाडी निर्माणमा लागे ।’ उनले विभिन्न सामाजिक सञ्जाल, युट्युव लगायतका प्रविधिको सहयोग लिएर गाडी निर्माण गरेको बताए ।
धनगढीको एक्सिस स्कुलमा कक्षा १० मा पढ्दै गर्दा उनले सवारी साधन चढ्ने चाहना राखेका थिए । उनले एसएलसी परीक्षा दिएपछि खाली समयमा गाडी निर्माणको तयारी गरेका थिए ।
उनले पुल्चोक ईञ्जिनियरिङ कलेजमा प्रमाणपत्र तह अध्ययन गर्ने क्रममा गाडी निर्माण गरी प्रर्दशनीमा ल्याएका थिए । सो क्रममा उनले बेस्ट प्रोजेक्ट अवार्ड प्राप्त गरेका थिए । त्यसैवेला उनले अर्को एक कार्यक्रममा आफूले निर्माण गरेको कार प्रस्तुत गरेका थिए । चार जनाको सिट भएको यो गाडी तीन पाँग्रे रहेको छ ।
तनमयलाई विभिन्न कुरामा सहयोग गर्ने उनका साथी हेमन्त चौधरीले धनगढीमा गाडी बनाउँदा विभिन्न सामग्रीको अभाव भएको बताए । तनमयलाई काइचो ग्रुपले सहयोग गरिरहेको छ । काइचो ग्रुपका अध्यक्ष सुमन पौडेलले प्रदेश नम्बर ७ मा नयाँ आविस्कारका लागि निर्माण सामग्रीको अभाव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्