सुरक्षाका कारण पिकनिकमा रोक
टीकापुर । प्रहरीले सुरक्षाको दृष्टिकोणले कर्णाली नदीदेखि उत्तरको क्षेत्रमा पिकनिक जान रोक लगाएको छ ।
कर्णाली उत्तरको भेगमा असोज १५ गते दुई जना युवक र सोमबार मात्रै दुई जना बालबालिका नदीमा बेपत्ता भएपछि प्रहरीले त्यहाँ जान रोक लगाएको कैलालीका प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।
उनले स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरेर त्यो क्षेत्रको कर्णाली किनारमा तारबार गर्नका लागि पनि प्रहरी चौकी चिसापानीलाई निर्देशन दिएको बताए । प्रहरीले त्यस क्षेत्रको जोखिमका बारेमा चिसापानी बजारमा सन्देशमुलक होर्डिङ बोर्ड लगाउने पनि तयारी गरेको छ ।
सोमबार देउसी भैलो खेलेर पिकनिक गएका कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ का जगन्नाथ धमलाका छोरा १४ वर्षका चक्र धमला र सोही स्थानका रामप्रसाद धमलाका १० वर्षकी छोरी शर्मिला धमला कर्णालीमा बेपत्ता भएका थिए ।
मंगलबार दिनभरी खोजी गरिए पनि उनीहरू फेला परेका छैनन । यसअघि असोज १५ गते मात्रै दुई जना युवक बेपत्ता भएका थिए । २० दिनमै घटना दोहोरिएपछि प्रहरीले त्यस क्षेत्रमा जान रोकेको हो । पितमारीको पिकनिक स्पट नजिकै कर्णाली नदीमा भुमरी जस्तो भंगालो भएकाले त्यहाँ पौडिन जानेहरू डुबी रहेका प्रहरीले जनाएको छ ।