११ श्रावण २०८१, शुक्रबार

कालो नम्बर प्लेटको माग गर्दै घेराउ



धनगढी । कालो नम्बर प्लेट पाउनु पर्ने माग गर्दै विद्युतीय रिक्सा चालक मजदुरहरूले बुधबार सेती अञ्चल यातायात व्यवस्था कार्यालयमा घेराउ गरेका छन् । यातायात व्यवस्था कार्यालय धनगढीले विद्युतीय रिक्सालाई कालो नम्बर प्लेट दिन बन्द गरेको विरोधमा मजदुरहरूले बुधबार तीन घन्टा कार्यालय घेराउ गरे ।
विद्युतीय रिक्साचालकका अनुसार अञ्चल यातायात व्यवस्था कार्यालयले पाँच महिनादेखि कालो नम्बर प्लेट वितरण बन्द गरेको छ । कालो नम्बर प्लेट नभएका विद्युतीय रिक्सालाई ट्राफिक प्रहरीले दैनिक पाँच सय रुपैयाँ जरिवान गर्ने गरेको उनीहरूले बताए । विद्युतीय रिक्सा चालक प्रभुराज जोशीले भने– ‘हामीले पटक पटक यातायात व्यवस्था कार्यालयलाई कालो नम्बर प्लेट दिन आग्रह गर्‍यौं, तर कुुनै सुनुवाई भएन ।’
उनले विद्युतीय रिक्सा किनेको तीन महिना वितिसक्दा पनि यातायात व्यवस्था कार्यालयले कालो नम्बर प्लेट नदिएको बताए । अर्का विद्युतीय रिक्सा चालक बालकृष्ण श्रेष्ठले भने– ‘जिविकोपार्जनका लागि चार लाख रुपैयाँमा रिक्सा किने, तर यातायात व्यवस्था कार्यालयले नम्बर प्लेट नदिएका कारया चलाउन समस्या भइरहेको छ ।’
धनगढी उपनगरपालिका क्षेत्रमा गुड्ने कैयौ विद्युतीय रिक्साहरूले यातायात व्यवस्था कार्यालयमा वार्षिक तिर्नु पर्ने कर नतिरेको तथा विद्युतीय रिक्सा चालक अनुमतिपत्र नलिएकाहरूले समेत निर्धक्क रूपमा रिक्सा चलाई रहेको अर्को मजदुर ईन्द्रादेवि चौधरीले बताइन् ।
ट्राफिक प्रहरीले कर नतिरेका तथा लाईन्सेन्स नभएकाहरूलाई निर्धक्क रूपमा चल्न दिने र रातो नम्बर प्लेट भएका विद्युतीय रिक्साहरूलाई मात्र समातेर जरिवाना तिराउने गरेको उनको गुनासो थियो ।
विद्युतीय रिक्सा चालक मजदुरहरूले बुधबार नै जिल्ला प्रशासन कार्यालयमा समेत घेराउ गर्दै तत्काल कालो नम्बर प्लेट दिन भन्दै ध्यानकषर्ण गराएको रिक्सा चालक श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्थित यातायात व्यस्थापन समन्वय समितिका संयोजक गोविन्दप्रसाद रिजाललाई भेटेर कालो नम्बर प्लेट दिन भन्दै ध्यानाकषर्ण गराएको उनले बताए ।
सेती अञ्चल यातायात व्यस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख केशवदत्त जोशीले विद्युतीय रिक्सालाई व्यवस्थीत गर्न मात्र केही दिनको लागि कालो नम्बर प्लेट दिन रोकिएको बताए । उनले कार्यालय प्रमुख कृष्णप्रसाद भुषाल बाहिर गएकोले उनी आउने वितिकै कात्तिक २० गतेपछि जिल्ला यातायात व्यस्थापन समन्वय समितिको बैठक बसेर रुट सिस्टम लागू गर्नुका साथै कालो नम्बर प्लेट वितरण गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले धनगढी उमहानगरपालिका र गोदावरी नगरपालिकामा सवारी साधानको चाप बढी भएकोले व्यवस्थापन गर्नको निम्ती केही दिनको लागि कालो नम्बर प्लेट दिन रोकिएको बताए । उनले केही दिनमै जिल्ला यातायात व्यवस्थापन समन्वय समितिको बैठक बसेर अहिले रातो नम्बर प्लेटमा चलिरहेका सबैलाई कालो नम्बर प्लेट दिईने उनले बताए ।

कात्तिक ०९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार