१० श्रावण २०८१, बिहीबार

छठ पर्व शुरु



धनगढी । कैलाली सहित तराईका जिल्लाहरूमा मंगलबारदेखि छठ पर्व शुरु भएको छ ।
आस्थाको महापर्व मानिने छठ पर्व अन्तर्गत मंगलबार यहाँ ‘नहाय–खाय’ विधि गरिएको छ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । मंगलबारको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले माछा, मासु, लसुन, प्याज, कोदो, मसुर जस्ता तामसी बस्तुको पूर्ण परित्याग गरी व्रत बस्ने परम्परा रहेको छ ।
छठपर्व निकै श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । ब्रतीले कात्तिक शुक्ल पक्षदेखि नैसात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी तथा सागपात आदि त्याग गर्ने गर्दछन् ।
यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न) को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ ।
गम्हरीलाई साठी पनि भनिन्छ । छठपर्वमा ६० प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ । गम्हरीलाई कुटेर त्यसको चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपपोग गरिन्छ ।
आरोग्य लाभ मुख्य उद्देश्य भएको छठपर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ ।
छठपर्वको पुजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ । छठपर्व विशुद्ध रूपमा प्रकति र पुरुषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । छठ पर्वमा मूल प्रकृतिको छैठौ अंशबाट उत्पन्न भएकी भगवती देवी छठ माताको पूजा गर्ने गरिन्छ ।
देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ ।
छठको पूजाका लागि श्रद्धालुहरूले त्रिनगर भन्सारस्थित मोहना किनार सजावट गरिरहेका छन् । कात्तिक षष्ठी तिथिका दिनदेखि दुई दिनसम्म कठोर ब्रत बसेर मनाइने छठ यस वर्ष कात्तिक ९ र १० गते परेको छ । षष्ठी तिथिका दिन दिनभरी ब्रत बसेर साँझपख नदी तथा तलाउको किनारबाट अस्ताउँदो सूर्यलाई जल चढाएर रातभर जाग्रम वसी भोलीपल्ट बिहान उदाउँदो सूर्यलाई जल चढाएर पूजा समापन हुने गर्दछ ।

कात्तिक ०८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार