१४ कार्तिक २०८१, बुधबार

बसपार्कमा एकाधिकार हटाउन माग



धनगढी । धनगढीमा रहेको बसपार्कमा सुदूरपश्चिम यातायातको एकाधिकार हटाउन माग गर्दै धनगढीका विभिन्न वस व्यवसायी समितिले धनगढी उपमहानगरपालिकामा दवाव दिएका छन् ।
विभिन्न बस व्यवसायी समितिले बुधबार बिहान दुई घण्टा उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना दिए ।
उनीहरूले धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको बसपार्कमाथि सुदूरपश्चिमाञ्चल बस व्यावसायी समितिले एकाधिकार गरिरहेकोमा आपत्ति व्यक्त गरेका छन् ।
कर्णाली रिभर साईड यातायात, मालिका यातायात र कैलाली यातायातले संयुक्त रूपमा धर्ना दिएका थिए ,
धनगढी उपमहानगरपालिकामा हाल चार वटा वस व्यवसायी समिति भए पनि सुदूरपश्चिमाञ्चल बस व्यावसायी समितिले एकलौटी बसपार्क प्रयोग गरिरहेको भन्दै उनीहरूले आफूहरूले पनि प्रयोग गर्न पाउने व्यवस्था मिलाउन धनगढी उपमहानगरपालिकामा दवाव दिएका थिए । उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको बसपार्कमा सुदूरपश्चिम यातायातमा आवद्ध यात्रुबाहक बस मात्र राखिएको छ । त्यस्तै, सो बसपार्कमा सुदूरपश्चिम यातायातको टिकट काउन्टर मात्रै रहेको छ ।
भदौमा वस व्यवसायी समितिले यहि माग लिएर धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडसंग बैठक बस्दा असोजको पहिलो साताभित्रै वसपार्कभित्र सबैलाई समेट्ने बताए पनि अहिलेसम्म उनीहरूको मागमा ध्यान नदिँदा व्यवसायीहरू आन्दोलनमा उत्र्नु परेको व्यवसायीहरूको गुनासो थियो ।
‘देशका अन्य स्थानमा रहेका बसपार्क तथा कैलाली जिल्लाका समेत अन्य स्थानमा रहेका बसपार्कमा सबै यातायात व्यावसायी समितिमा आवद्ध यात्रुबाहक सवारी साधन तथा टिकट काउन्टर राख्न पाउने व्यवस्था गरिएको छ’ कर्णाली रिभर यातायात समितिका उद्धार उपाध्यक्ष योगेश मल्लले भने– ‘तर, कैलालीको धनगढीमा रहेको बसपार्कमा भने सुदूरपश्चिम बस व्यवसायी समितिले एकलौटी ढंगले प्रयोग गरिरहेको छ ।’ उपाध्यक्ष मल्लले सबै यातायात व्यवसायी समितिले सो बसपार्कमा सबै यातायात व्यावसायी समितिका बस तथा काउन्टर राख्न पाउने व्यवस्था मिलाउनु पर्ने माग गरे । उनले अन्य वस व्यवसायीहरूले सो बसपार्कको उपयोग गर्न नपाउँदा समस्या भएको बताए ।
कैलाली यातायात व्यावसायी समितिका महासचिव सिद्धराज पनेरूले आफूहरूले बसपार्क उपयोग गर्न नपाउँदा सडकमै गाडी राख्नुपर्ने बाध्यता रहेको बताए । महासचिव पनेरूले सडकमा गाडी राखेर सवारी बोक्नुपर्ने अवस्था रहेकोले बसपार्क सबैको साझा बनाउन धनगढी उपमहानगरपालिकालाई ध्यान दिन आग्रह गरे ।
दबाब पछि तीन वटै वस व्यवसायी समितिका पदाधिकारीसंग धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले यहि ७ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा बैठक बसाएर वसपार्कमा सबै यातायात व्यवसायी समितिलाई समेट्ने गरी पहल गर्ने बताए ।
धनगढीमा सुदूरपश्चिम यातायातको पाँच सय ५८, कर्णाली रिभर यातायातको दुई सय ५०, मालिका यातायातको ३६ र कैलाली यातायातको एक सय ५० वटा यात्रुबाहक गाडी सञ्चालनमा रहेका छन् ।

कात्तिक २ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार