१२ श्रावण २०८१, शनिबार

इजरायलमा श्री स्वस्थानी ब्रतकथा र महाशिवरात्री कार्यक्रम हुने



इजरायल । ओम जनजागरण अभियान नेपालको आयोजनामा इजरायलमा श्री स्वस्थानी ब्रतकथा र महाशिवरात्रीको अवसरमा विशेष पूजाआजा कार्यक्रम हुने भएको छ ।
‘राष्ट्र, राष्ट्रियता, स्वाभिमान र मौलिक धर्म, संस्कार संरक्षणको अभियान’ भन्ने मूल नारासहित स्थापित ओम जनजागरण अभियान नेपाल हिन्दूधर्मालम्बीहरु आबद्ध संस्था हो ।
नेपाल सहित विश्वका विभिन्न मुलुकमा क्रियाशिल रहेको ओम जनजागरण अभियान नेपालले धर्म परिवर्तनमा रोक लगाउन माग गर्दै हिन्दूधर्मको संरक्षण र सम्बद्र्धनका लागि विशेष प्रचारप्रसार गर्ने अभियान थालेको ओम जनजागरण अभियान इजरायलकी सचिव दीया चापागाईं बताइन् ।
‘राष्ट्र, राष्ट्रियताका साथै बैदिक सनातन धर्मको जगेर्ना गर्न ओम जनजागरण अभियान नेपाल स्थापना गरिएको हो’, सचिव चापागाईंले भनिन्, ‘यो अभियान अझै सशक्तरुपमा अघि बढाइनेछ ।’
उनले ओम जनजागरण अभियान नेपालको आयोजनामा नजिकै आइरहेको श्री स्वस्थानी ब्रतकथाको साङ्गे र महाशिवरात्रीको अवसरमा इजरायलको तेलअभिवमा विशेष पूजाआजा र प्रसाद ग्रहण गर्ने कार्यक्रम राखिएको बताइन् । सो कार्यक्रम आउँदो माघ १९ गते अर्थात् २ फ्रेबअरी २०१८ शुक्रबारका दिन हुनेछ ।
कार्यक्रममा सम्पूर्ण भक्तालुजन लगायत इजरायलमा रहेका नेपालीहरुलाई उपस्थित भई स्वस्थानी माताको प्रसाद ग्रहण गरिदिन हुन कार्यक्रमको आयोजक ओम जनजागरण अभियान नेपालले एक बिज्ञप्ति प्रकाशित गरी अनुरोध गरेको छ ।
साथै, उक्त दिन इजरायलमा रहेका कुनैपनि नेपाली संघसंस्थाले कार्यक्रम नजुधाई दिन र एकअर्काको बिरुद्धमा अनावश्यक बक्तब्यबाजी नगरी कार्यक्रमलाई भब्य र सभ्यरुपमा सफल पारी दिन पनि जारी बिज्ञप्तिमा भनिएको छ ।
कार्यक्रमलाई विशेष रुपले सम्पन्न गर्न आवश्यक पहलकदमी थालिएको छ । कार्यक्रम कसैका बिरुद्ध नभई बैदिक सनातन धर्मको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यका साथ स्वस्थानी ब्रतकथा तथा महाशिवरात्रीको अवसरमा विशेष पूजाआजा र प्रसाद ग्रहण कार्यक्रम राखिएको ओम जनजागरण अभियान इजरायलका कार्यबाहक अध्यक्ष भक्ती सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार