२८ भाद्र २०८१, शुक्रबार

शान्तिसुरक्षा बलियो बनाउन कार्ययोजना



धनगढी । तिहारका बेला हुन सक्ने असामाजिक तथा अवांछित क्रियाकलाप नियन्त्रण गर्न जिल्ला सुरक्षा समन्वय समितिले कार्ययोजना बनाएको छ ।
बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले तिहारमा देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रमका लागि निश्चित समयावधि पनि तोकेको छ ।
‘रातको समयमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम गर्दा शान्ति सुरक्षामा प्रतिकुल असर पुर्‍याउन सक्छ’ कैलाली प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘सुरक्षालाई दृष्टिगत गरी त्यस्ता कार्यक्रम रातिको १० बजेपछि नगर्न आग्रह गर्दछु ।’ प्रजिअ रिजालले राति १० बजेपछि विशेष गरी बालबालिका र महिलालाई त्यस्ता कार्यक्रममा सहभागी नबन्न आग्रह गर्दछु ।
त्यस्तै, प्रशासनले तिहारमा बिस्फोटक पदार्थको प्रयोग नगर्न पनि आग्रह गरेको छ । विस्फोटक पदार्थले आगलागी भई धनजनको क्षति हुनसक्ने भएकाले यस्ता पदार्थ प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।
तिहारमा भुइचम्पा, पटाका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको बढी प्रयोग हुने भएकाले प्रशासनले त्यस्ता पदार्थ उत्पादन, आयातनिर्यात तथा बिक्रीवितरणमा रोक लगाएको जनाएको छ ।
भारतबाट विस्फोटक पदार्थहरु आयात हुने भएकाले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न कैलाली जिल्ला प्रहरी कार्यालयलाई कैलाली प्रजिअ रिजालले निर्देशन दिएका छन् ।
यस्तै, प्रशासनले अभिभावकलाई आ–आफना बालबालिकालाई पनि यस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न दिन आग्रह गरेको छ ।

असाेज २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार