१२ श्रावण २०८१, शनिबार

अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको अधिवेशन धनगढीमा



धनगढी । अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको प्रथम महाधिवेशन तथा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन धनगढीमा हुने भएको छ । सम्मेलन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने बताइएको छ ।
सुदूरपश्चिम क्षेत्रको पूर्वाधार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, तथा पर्यटनको प्रवद्र्धनमा टेवा पुगाउने उद्देश्यले आयोजना हुने प्रथम महाधिवेशन तथा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन असोज २० र २१ गते संस्थाका सचिव अमृत शाहीले बताए ।
अधिवेशनको उद्घाटनमा सात नम्बर प्रदेश अर्थात् सुदूरपश्चिम क्षेत्रका संस्कृति झल्काउने सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने जनाइएको छ । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका महादेशका साथसाथै खाडी क्षेत्रका प्राय: सबै देशमा कार्यरत नेपालीहरू प्रथम महाधिवेशन तथा प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने बताइएको छ ।
दोस्रो दिन नयाँ नेतृत्व चयन गर्ने संस्थाको महाधिवेशनमा ३५ देशका झण्डै दुई सय प्रतिनिधि सहभागी हुने सचिव शाहीले बताए । सुदूरपश्चिम क्षेत्रका लागि केही गर्ने मूल उद्देश्यका साथ कर्मथलोमा तदर्थ समिति गठन भएकोले हाम्रो संस्थाको प्रथम महाधिवेशन तथा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन पनि सुदूरपश्चिम क्षेत्रमै आयोजना गरिएको संस्थाले जारी गरिएको प्रेस सामग्रीमा उल्लेख छ ।
सचिव शाहीले प्रथम महाधिवेशन तथा प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको तयारी शुरु भइसकेको र तयारीका लागि धेरै जना नेपालीहरू नेपाल आइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार