४ जेष्ठ २०८१, शुक्रबार

दुई बालिकासहित तीनको उद्धार गरियो



धनगढी । पैसाको प्रलोभनमा पारेर भारतको दिल्ली पुर्‍याइएका दुई बालिका र एक महिलाको उद्धार गरी घर फर्काइएको छ । माइती नेपालले शुक्रबार भारतको सिलगुडीबाट उनीहरूको उद्धार गरी ल्याएको थियो ।
उनीहरू तीनै जनालाई कैलालीको जोशीपुर गाउँपालिका, हिम्मतपुरका प्रेम चौधरीले प्रलोभनमा पारेर गत जेठ १६ गते भारतको दिल्ली पुर्‍याएको बताइन्छ ।
प्रेमले उनीहरूलाई भारतको दिल्लीबाट रकम ल्याउनुपर्ने र सो वापत एक लाख २० हजार रुपैयाँ दिने प्रलोभन दिएको थियो । ‘भारतमा मेरो धेरै रकम छ, महिलाहरूलाई बोर्डरमा प्रहरीले चेकजाँच गर्दैनन् । मसंग भारतको दिल्ली गएर मेरो रकम कैलाली पुर्‍याएमा एक लाख २० हजार रुपैयाँ दिन्छु भन्यो’ एक बालिकाल प्रेमलाई उद्धृत गर्दै भनिन् ।
उनीहरू तीनै जना भजनीसम्म साईकलमा गएका थिए । भजनीबाट गाडीमा गौरीफन्टा हुँदै दिल्ली गएका थिए । दिल्ली पुगेपछि प्रेमले उनीहरूलाई ‘केही बेरमा फर्किन्छु’ भनेर उनीहरूसंग भएको मोबाइल फोन र रकम लिएर फरार भएको थियो ।
प्रेम लामो समयसम्म नर्फिएपछि उनीहरूले भारतीय प्रहरी चौकीमा दुखेसो गरेका थिए । ‘भारतीय प्रहरीले हामीलाई पलियासम्म आउने ट्रेनमा बसायो र केही खानेकुरा दियो’ उद्धार गरिएकी एक बालिकाले भनिन्– ‘तर हामी पलियाको साटो भारतको सिलगुडी पुगेछौं । उनीहरू बाटो भुलेर सिलगुडी पुगेपछि रोइकराई गरिरहँदा एक जना महिलाले आफ्नो घरमा लगेको र चार दिनसम्म आफू कहाँ राखेको उनले बताइन् ।’
यता बालिका र महिला लामो समयसम्म पनि नर्फिएपछि उनीहरूका आफन्तले माइती नेपाल, धनगढीमा उजुरी दिएका थिए । उजुरीपछि भारतको बाल सुरक्षा अभियान ट्रष्ट र भारतको बाल कल्याण समितिको सहयोगमा उनीहरूलाई भारतको सेफ हाउसमा राखिएको थियो । माइती नेपाल, धनगढी प्रमुख शिवचरण चौधरीका अनुसार उनीहरूलाई शुक्रबार राति धनगढी ल्याइपुर्‍याएको थियो ।
माईती नेपाल, धनगढी प्रमुख चौधरीका अनुसार अभियुक्त प्रेमका विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको र बालिकाहरूको आर्थिक अवस्था कमजोर भएका कारण नि:शुल्क शिक्षाको व्यवस्था गर्ने पहल भइरहेको छ । उनले ती दुई बालिका र महिलालाई बिक्री गर्ने उद्देश्यले भारतको दिल्ली पुर्‍याइए पनि उनीहरू उम्किन सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार