४ जेष्ठ २०८१, शुक्रबार

‘निकाई भया,रामडाई भया, सबै सुदुरबासी’



काठमाडौं:

दशैं आउँदो, त्याहार आउँदो, खुशी हुँदा हामी
निकाई भया, रामडाई भया, सबै सुदुरबासी
एमाले उपाध्यक्ष भीम रावलले अछामी भाषामा पहिलोपटक देउडा गितमार्फत दशैं र तिहारको शुभकामना दिंदा सभाहल तालिले गुञ्जमान बन्यो। सधैं राजनीतिक भाषण गर्ने रावलले मञ्चमा बस्दाबस्दै देउडा गित तयार पारेका थिए।
सुदुरपश्चिम समाजद्धारा दशैं र तिहारका अवसरमा शनिवार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रावलले अर्को कविताका केही अंश पनि तयार पारे, मञ्चमा बस्दा बस्दै।
बालेर मनको दियो, छर्दै उज्यालो यहाँ,
उठाउंदै देशको शिर सगरमाथा सरि यहाँ
भावना मिलाई सबै एकचित्तले अघि सरी
प्रेम र श्रद्धा सबमा राखेर ह्दयभरी
खोलेर मनको ढोका पूर्ण होउन चाहना
सम्वृद्धि सुखको लागि हार्दिक शुभकामना।
रावल अघि नेपाल प्राज्ञ प्रतिष्ठानका पुर्व प्राज्ञ यज्ञराज उपाध्यायले देउडा गित र कविता प्रस्तुत गरेका थिए। ‘अछाम रामारोशन’ भन्दै उपाध्यायले गित गाएपछि आफुलाई पनि अछामी भाषामा गित प्रस्तुत गर्न मन लागेको भन्दै एमाले नेता रावलले मञ्चमै गित लेखेका थिए।
मञ्चबाट पहिलोपटक राजनीतिक भाषण नगरि भाषा, संस्कृति र कलाको संरक्षण,संम्वर्द्धनबारे रावलले धारणा राखेका थिए । सुदुरपश्चिमेलीलाई एकतावद्ध बनाइ त्यहाँको सामाजिक,आर्थिक विकासका साथै त्यस क्षेत्रबाट राजधानीमा आएर विभिन्न पेशा र व्यवसायमा आवद्धहरुका पीडा,मर्कामा साथ दिन २०६६ सालमा सुदुरपश्चिम समाजको स्थापना भएको थियो।
‘हामी राजनीतिक कुरा गर्दैनौ।सुदुरपश्चिमबाट आएर राजधानीमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेकाहरुबीच पीडा, मर्का र दुःखमा साथ दिन यो संस्थाको स्थापना गरेका हौं,’ समाजका अध्यक्ष केशर साउदले भने। कार्यक्रममा पूर्वमन्त्री एवं पुर्व सचिव छविराज पन्तले सुदुरपश्चिमको विकासका लागि समाजले भुमिका खेल्नुपर्ने बताए।
पूर्वमन्त्री एवं एमाले सांसद कर्णबहादुर थापाले हरेक दृष्टिकोणले सुदुरपश्चिम सम्भावनाको खानी भएकाले त्यहाँका सम्भावनाको उपयोग कसरी गर्ने भन्नेमा सबैको ध्यान जानुपर्ने बताए।
कार्यक्रममा सार्वजनिक संस्था कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष दिर्घराज ढुंगाना, समाजसेवी भैरव बोहरा,शिव ठकुल्ला,डिबी साउद लगायतले शुभकामना मन्तव्य दिदैं सुदुरपश्चिमको विकासका लागि समाजले पुलको भूमिका खेल्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार