४ जेष्ठ २०८१, शुक्रबार

प्रहरी टोलमा अभियान शुरु



धनगढी । कैलालीमा प्रहरी टोलमा नामक अभियान शुक्रबारदेखि शुरु भएको छ । अभियानको धनगढी ट्राफिक चौराहदेखि जिल्ला समन्वय समितिसम्म प्रभातफेरी गरी आरम्भ गरियो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा नागरिकसंग प्रहरी र प्रशासनको सम्बन्धलाई अझ प्रभावकारी बनाउन तथा शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउन सो अभियान सञ्चालन गरिएको बताइएको छ ।
कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीले समुदायको सकारात्मक सहयोगबाट मात्रै प्रहरीको काम प्रभावकारी र सफल हुन सक्ने बताए । उनले प्रहरीप्रतिको जनविश्वास बढाउन नेपाल प्रहरीले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
अभियानका क्रममा टोलटोलमा घरदैलोको कार्यक्रम र अन्तरक्रिया, महिला हिंसा र मानव बेचविखन लगायत विभिन्न अपराधिक घटनाबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
एसपी चन्दले नेपाल प्रहरीले प्रहरी–नागरिक हातेमालो कार्यक्रम, सडक सुरक्षा चेक प्वाइन्ट र ग्रामीण प्रहरी अवधारणा, मुस्कान सहितको प्रहरी सेवा, प्रहरी हाम्रो साथी लगायतका अभियान सञ्चालन भइरहेको बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेपाल प्रहरी, सामुदायिक प्रहरी, क्लवहरू, कलेज तथा विद्यालय, स्थानीय तह तथा नागरिक समाजको सहभागितामा अभियान अघि बढाइने बताए ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले अभियानलाई प्रभावकारी बनाउन सबैले सकारात्मक सोच राख्नुपर्ने बताए ।

असाेज ०७ गते (epapre)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार