४ जेष्ठ २०८१, शुक्रबार

बेसहारा बालबालिकालाई सहयोग



टीकापुर । बाल दिवसको अवसरमा कैलालीको बल्चौरस्थित आश्रममा रहेका बेसहारा बालबालिकाहरूलाई ६१ हजार एक सय १३ रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ ।
उनीहरूलाई विभिन्न व्यक्तिले सहयोग गरेको ६१ हजार एक सय १३ रुपैयाँबाट लत्ताकपडा, झोला र खानेकुरा लगायतका सामग्री प्रदान गरिएको हो । नागरिक दैनिकका टीकापुर संवादादाता योगेश रावलको संयोजनमा सामग्री प्रदान गरिएको हो ।
उनले भदौ १९ गतेको नागरिक दैनिकमा ‘आश्रममा बालबालिकाको बिजोग’ विषयको समाचार प्रकाशित गरेका थिए । समाचार प्रकाशित भएपछि धेरै व्यक्तिहरूले सहयोग गरेका थिए । सहयोग गर्नेमा स्वदेश तथा विदेशमा रहेकाहरू छन् ।
समाचार आएपछि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एकिन्द्रकुमार कुँवरले सबैभन्दा पहिले तीन हजार रुपैयाँ सहयोग गरेका थिए । पत्रकार कुँवरपछि टीकापुर घर भई दोहा कतारमा रहेका नरेन बिष्टले १३ हजार १, टीकापुरकै जापानमा रहेका गणेश शाहीले १० हजार, झापा घर भई स्विडेनमा रहेका सुमन बरालले १० हजार, टीकापुरका नवराज भट्टराईले १० हजार, टमट्टा (ताम्राकार) एकता समाज टीकापुरले ५ हजार ५००, टीकापुर व्यवशायी दीपेश तिमिल्सिनाले ५ हजार १११, टीकापुरका सारांश कोइरालाले २ हजार ५२५, शिक्षक टेकबहादुर सार्कीले २ हजार सहयोग गरेका थिए ।
सुदूर तथा मध्यपश्चिमका विभिन्न पहाडी जिल्लाका बालबालिकाहरू कैलाश धाम धार्मिक वन क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएको आश्रममा बस्दै आएका छन् । सो आश्रम कालीमाताका नामले चिनिने नरिन्ता शाहले सञ्चालन गरेकी हुन । आश्रममा १४ जना बालबालिका छन् । तीमध्ये कसैका बुबा छैनन् । कसैका आमा छैनन् । कोही बुबाआमा दुवै नभएका पनि छन् । बेसहारा बनेका बालबालिकाहरूलाई आफन्तले नै आश्रममा छोडेर गएका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार