२० बैशाख २०८१, बिहीबार

जनप्रतिनिधिको बदमासी : १७ वर्षअघि मृत्यु भएकालाई जिउँदो ठहर्‍याए



दमक । झापा गौरादह नगरपालिकाका वडाध्यक्ष र वडासचिवले १७ वर्षअघि निधन भइसकेका व्यक्तिको नाममा सर्जमिन मुचुल्का तयार पारेको पाइएको छ । गौरादह–६ हेंगाटोलीमा इँटाभट्टा स्थापनार्थ गाउँलेको मञ्जुरी लिने क्रममा निधन भइसकेका र आँखा नदेख्ने व्यक्तिको नाममा सर्जमिन मुचुल्का तयार पारिएको हो ।
वडा ६ का वडाध्यक्ष खड्ग पराजुली र वडासचिव खेमनाथ संग्रौलाले उनीहरूको सर्जमिन गरेका हुन् । इँटाभट्टा स्थापनाका लागि उद्योग विकास शाखामा सर्जमिन मुचुल्कासहित सिफारिस गरी पठाउने क्रममा निधन भइसकेका व्यक्तिको समेत सर्जमिन गरेका हुन् । हेंगाटोली निवासी धामीलाल ताजपुरियाको २०५६ चैत ११ गते निधन भएको थियो । ०५७ वैशाख ४ गते तत्कालीन कोहबरा गाविसले प्रदान गरेको मृत्यु दर्ता प्रमाणपत्रअनुसार ताजपुरियाको ६३ वर्षको उमेरमा निधन भएको थियो । तर, वडासचिव संग्रौलाले तयार पारेको सर्जमिन मुचुल्कमा ताजपुरियाको उमेर ५८ वर्ष उल्लेख छ । सर्जमिन पत्रमा ताजपुरियाको नाममा औंठाछाप लगाइएको छ ।
यस्तै आँखा नदेख्ने स्थानीय नयाँलाल ताजपुरियालाई पनि सर्जमिनपत्रमा हस्ताक्षर गराइएको छ । आँखा नदेख्ने ताजपुरियालाई ललाइफकाई झुक्याएर हस्ताक्षर गर्न लगाएको आरोप स्थानीयवासीले लगाएका छन् । उनको नाममा पनि ल्याप्चे लगाइएको छ ।
वडासचिव संग्रौलाले सर्जमिन मुचुल्का उठाउने क्रममा ‘म फलानो, म फलानो’ भन्दै आएकाले उक्त आधारमा सर्जमिन गरेको जवाफ दिए । टेलिफोनमा कुराकानी गर्ने क्रममा उनले लामो बोल्न चाहेनन् । उनले एउटै नामका अर्का व्यक्ति पनि हुन सक्ने दाबी गरे । पुन: सम्पर्क गर्दा सचिव संग्रौलाले मोबाइल ‘अफ’ गरेका थिए । सचिवले स्थलगत रूपमा गरेको सर्जमिन मुचुल्कासहित सिफारिस उद्योग विकास शाखामा पठाएका वडाध्यक्ष पराजुलीले भने आफू त्यस विषयमा अनभिज्ञ रहेको बताए । ‘मलाई यस विषयमा केही थाहा छैन । सचिवज्यूले स्थलगत सर्जमिन ल्याउनुभएको थियो । मैले त्यही मुचुल्कालाई भद्रपुर पठाइदिएको हुँ’, उनले भने ।

मृतक धामीलालका छोरा गोपाल ताजपुरियाले सचिवले आफूखसी नाम लेखेर सर्जमिन मुचुल्का उठाएको बताए । उनले १७ वर्षअघि निधन भइसकेका बुबाको नाम मुचुल्कामा देखेपछि छक्क परेको बताए । ‘म गौरीगन्ज बजार गएको थिएँ । सचिवज्यूहरू आउनुभएको रहेछ । खोई, कसकसलाई सोधेर बुबाको नाम पनि मुचुल्कामा राख्नुभएको हो’, उनले भने ।
नगरपालिकाका मेयर रोहितकुमार साहले निधन भएका व्यक्तिको नाममा सर्जमिन मुचुल्का गरेको बारे आफूलाई पनि केही थाहा नभएको बताए । उनले सचिवलाई नगरपालिकामा बोलाएर तत्कालै बुझ्ने बताए । ‘म तत्कालै बुझ्छु, सचिवले गल्ती गरेका हुन् कि होइनन्,’ उनले भने, ‘यस विषयमा मलाई अरू केही थाहा छैन ।’
स्थानीय श्रीप्रसाद राजवंशीका अनुसार १ सय ५ घरधुरी रहेको गाउँमा धामीलाल ताजपुरिया नामको अर्को व्यक्ति नहरेको बताए । उनले भने, ‘हाम्रो गाउँमा धामीलाल भन्ने एक जना मात्र थिए । उनको १७ वर्षअघि निधन भइसकेको छ । उनको मृत्यु दर्ता प्रमाणपत्र यही हो । सचिवज्यूले गल्ती काम गर्ने क्रममा झन् ठूलो गल्ती गर्न पुगे ।’ उनले स्थानीयको वास्तविक परिचय नखोज्नु, बजार र बाटोका बटुवासँग सोधपुछ गरेर सर्जमिन मुचुल्का तयार पार्दा यस्तो अवस्था आएको बताए ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार