२० बैशाख २०८१, बिहीबार

जनस्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा



धनगढी । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको आर्थिक वर्ष २०७३/७४ मा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम आइतबार भएको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति, कैलालीका संयोजक सूर्यबहादुर थापाले उद्घाटन गरेका थिए । कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा जिसस संयोजक थापाले स्वास्थ्य निकायका कर्मचारीहरूले ईमान्दार भएर काम गर्न आग्रह गरे । ‘स्वास्थ्य सबैभन्दा सम्वेदनशील विषय हो’ उनले भने– ‘तपाई कर्मचारीहरूले ईमान्दार भएर काम गरेमा मूल्यांकन गरी पुरस्कृत गरिनेछ भने काम नगर्ने, अटेर गर्ने कर्मचारी बनेमा कारबाही गरिने छ ।’
उनले उदासीपुर प्रथामिक स्वास्थ्य केन्द्रको भवन निर्माणको काम एक/दुई दिनभित्रै अगाडि बढाउने बताए । ‘कुन ठेकेदारले ठेक्का लिएको थियो, कति काम भएको छ कति हुन बाँकी छ सम्पूर्ण विवरण मलाई दिनुहोस्’ संयोजक थापाले भने– ‘म निर्माण व्यवसायी र ठेकेदारसंग कुराकानी गर्छु, ठेक्का रद्द गर्नुपर्छ कि के गर्नुपर्छ म स्वास्थ्य केन्द्रको भवन निर्माणको काम अघि बढाउन पहल गर्छु ।’
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विगतको तुलनामा पछिल्लो समय स्वास्थ्यमा धेरै सुधार भएको उल्लेख गरे । उनले अझै पनि स्वास्थ्य क्षेत्रमा जनशक्ति, साधन स्रोतको अभावका कारण केही समस्या देखिने गरेको बताए ।
समीक्षा कार्यक्रममा एक उपमहानगरपालिका, ६ गाउँपालिका र ६ नगरपालिकाको स्वास्थ्य कार्यालयको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन तथ्यांक अधिकृत मोहनदेव भट्टले गरेका थिए ।

भदाै २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार