२० बैशाख २०८१, बिहीबार

संयुक्त थारू मोर्चा गठन



धनगढी । थरुहट/थारूवान आन्दोलनलाई अघि बढाउन संयुक्त थारू राष्ट्रिय मोर्चा गठन गरिएको छ ।
धनगढीमा दुई दिनसम्म चलेको थरुहट आन्दोलन सम्बन्धी राष्ट्रिय सम्मेलनमार्फत सप्तरी जिल्लाका श्रवण चौधरीको संयोजकत्वमा २१ सदस्यीय मोर्चा गठन गरिएको छ ।
मोर्चाको सदस्यमा कैलालीका रामप्रसाद चौधरी, कृष्णकुमार चौधरी, सुशीला र खडक चौधरी, सुनसरीका रमेश चौधरी, कञ्चनपुरका प्रेमवति राना, चितवनका विश्राम चौधरी, सप्तरीका सीएन थारू र दाङका प्रकाश चौधरी रहेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलन आयोग समिति संयोजक रहेका थारू नेता सीएन थारूले दुई वर्ष यता सुस्ताएको आन्दोलनलाई हाक्न र थरुहट तथा पहिचानवादी शक्तिहरूलाई एकतावद्ध गर्नका लागि मोर्चा गठन गरिएको बताए ।
यसअघि थरुहट आन्दोलनको अगुवाई थरुहट/थारूवान संयुक्त संघर्षले गरेको थियो ।
थारू नेताहरूले अव हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जानेकी नजाने भन्ने विषयमा नैतिक सवालको विषयका रूपमा व्याख्या गरेका छन् ।
सम्मेलनले २६ बुँदे मागपत्र पनि सार्वजनिक गरेको छ । राजनीतिक, सामाजिक र जनजीविकाको सवाललाई आधार बनाई मागपत्र प्रस्तुत गरिएको छ । आत्मानिर्णय, अधिकारसहितको स्वायत्तता र स्वाशासनको ग्यारेन्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रात्मक व्यवस्था, पहिचानसहितको १० जोड १ संघीय संरचना कार्यान्व्यन गर्नुपर्ने, टीकापुर घटनाको झुठा मुद्दा खारेज गर्नुपर्ने लगायत मागपत्र प्रस्तुत गरिएको छ ।

भदाै २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार