११ श्रावण २०८१, शुक्रबार

पवेरामा विद्युतमा कम भोल्टेज र बिल तिर्नै समस्या



धनगढी । कैलारी गाउँपालिका–५, पवेरामा विद्युतको भोल्टेज कम हुँदा स्थानीय वासिन्दालाई समस्या भएको बताएका छन् । उनीहरूले नेपाल विद्युत प्राधिकरणलाई भोल्टेज बढाई दिन माग गर्दै आए पनि प्राधिकरणले चासो नदिएका कारण समस्या भएको हो ।
साँझ पर्ना साथ भोल्टेज कम हुँदै गएर बत्ती नबल्ने गरेकोले बत्तीको विकल्पमा चार्जर व्याट्री किन्न बाध्य बनाएको कैलारी गाउँपालिका–५ का सीताराम चौधरीले गुनासो गरे ।
कम भोल्टेजको समस्या स्वास्थ्य चौकीमा पनि परेको छ । सेवा सूचारु गर्न स्वास्थ्य चौकीमा ब्याट्री जडान गरिए पनि साँझ पर्ना साथ विद्युतको भोल्टेज कम हुँदै गएर सिएफएल बत्ती पनि नबल्ने गरेको मानवअधिकार निगरानी समूहका अध्यक्ष पुष्पा चौधरीले बताइन् ।
पवेरामा कम भोल्टेजको समस्या त छँदैछ विद्युतको महसुल बुझाउन धनगढी आउनुपर्ने समस्या पनि छ । स्थानीय कृष्णा चौधरीले दुई सय महसुल बुझाउन जाँदा एक हजार रुपैयाँसम्म खर्च हुने गरेकाले कैलाली गाउँपालिकामा विद्युतको महसुल बुझाउने काउण्टर खोल्न माग गरेकी छन् । स्थानीय जनप्रतिनिधि आइसकेपछि गाउलेले झेल्दै आएका समस्या समाधान हुन्छन की भन्ने आशा रहेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार