११ पुष २०८१, बिहीबार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा हुने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो । यसअघि सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको दुवै निर्वाचन एकै चरणमा मंसिर १० गते गर्ने मिति तय गरेको थियो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आयोगको आग्रहअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार प्रदेशसभा र प्रतिनिधिसभाका दुईवटा मतपत्र हुनेछन् । एउटा मतपत्र प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र अर्को समानुपातिक तर्फको मतपेटिकामा मत खसाल्नु पर्ने हुन्छ ।
मंसिर १० र २१ गते दुवै तहका निर्वाचन हुने मन्त्री बस्नेतले प्रस्ट पारे । पहिलो चरणमा मंसिर १० गते हिमाली जिल्लाहरुमा र सुगम जिल्ला, क्षेत्रहरुमा २१ गते दोस्रो चरणमा दुवै तहका निर्वाचन हुनेछन् ।
त्यस्तै प्रदेश प्रमुखहरुको नियुक्तिका लागि राजनीतिक सहमति खोज्ने र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद् बैठकको निष्कर्ष छ ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार