४ जेष्ठ २०८१, शुक्रबार

धुमधामसंग हरितालिका तीज मनाइयो



धनगढी । हिन्दू नारीहरूको महान धार्मिक चाड हरितालिका तीज बिहीबार देशभरी धुमधामसंग मनाइएको छ ।
पौराणिक कालमा हिमालयकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि ब्रत गरेको धार्मिक मान्यता रहेकोले विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायुका लागि निराहार ब्रत बस्ने गरेका छन् ।
हिमालयले आफ्नी छोरी पार्वतीलाई विष्णु भगवानलाई कन्यादान दिन लागेको थाहा पाएर उनका साथीसंगीले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जल, निराहार ब्रत गरेकोले यसलाई हरितालिका भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।
विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहितले शुयोग्य वर पाउनका लागि अघिल्लो दिन राति अवेरसम्म दर खाएर तीजको दिन निराहार ब्रत बसेर भगवान शिवको पूजा गर्ने परम्परा छ । भाद्रशुक्ल द्वितीयाका दिन राति दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ ।
हरितालिका तीजको दिन बिहीबार बिहानैदेखि कैलालीको धनगढीस्थित नैनादेवी मन्दिर, शिव मन्दिर, घोडाघोडी, लम्की लगायत देशभरका शिवालय तथा मन्दिरहरूमा ब्रतालुको भीड लागेको थियो ।
यसै बीच कैलालीको घोडाघोडी नगरपालिकामा पनि तीज भव्यताका साथ मनाइएको छ । तीजको अवसरमा नगरपालिकाका अधिंकाशं ठाउँमा विभिन्न तीज विशेष कार्यक्रम गरिएका थिए । तीजकै अवसरमा घोडाघोडी नगरपालिका–१, सुखडको हेलीप्याडमा विशेष कार्यक्रम गरिएको छ भने बजारका चोक चोकमा महिलाहरू जम्मा हुँदै रमाइलो गरेका थिए ।
२ नम्वर वडा अन्तर्गतको साडेपानी बजारमा पनि बिहीबार तीज विशेष कार्यक्रम गरिएको छ भने । १० नम्वर वडा अन्तर्गतको पहलमानपुरमा पनि बहृत तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार