६ कार्तिक २०८१, मंगलवार

हरेरी महोत्सव शुरु



धनगढी । धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर ५ जाईमा हरेरी महोत्सव शुरु भएको छ । थारू समुदायको भाषा, कला, संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले हरेरी महोत्सव सुरु भएको हो ।
‘हाम्रो संस्कृति, कला, भेषभूषा हाम्रो पहिचान ! हरेरी महोत्सव मनाउने सबै किसानको अभियान !’ भन्ने नाराका साथ शुुरु भएको हरेरी महोत्सवको धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै मेयर वडले महोत्वसले धर्म, संस्कृतिको जगेर्ना गर्ने बताए । उनले पुर्खादेखि चलिआएको चलनचल्तीलाई लोप हुन नदिन यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । उनले धनगढीलाई विकास तर्फ अघि बढाउन पनि कला, संस्कार, संस्कृतिको जगेर्ना हुन जरुरी रहेको बताए । ‘अब हामीले कुनै जातजाति भनेर विवाद गर्नुहुँदैन्’ मेयर वडले भने, ‘धनगढीलाई विकास तर्फ अघि लग्न समाजिक सद्भावलाई नखल्बल्याई अघि बढ्न जरुरी छ ।’ उनले कला, संस्कार, संस्कृतिको संरक्षणका लागि धनगढी उपमहानगरपालिकाले गर्नसक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा उपमेयर सुशीला मिश्र भट्टले कला, संस्कार, संस्कृति जोगाउन समाजिक सद्भाव कायम गर्न जरुरी रहेको बताइन् । कार्यक्रममा थारू कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य ईन्दिरा चौधरीले थारू समुदायले धान रोपीसकेपछि धानवालीमा किरा नलागोस्, विपतले कुनै क्षति नपुगोस् लगायतको मान्यताले हरेरी पूजा गरिदै आएको बताइन् ।
कार्यक्रममा थारू कल्याणकारिणीका सचिव माधव थारू, धनगढी वडा नम्बर ५ का वडा सचिव हिरासिंह पातली, थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
हरेरी महोत्सव २०७४ मूल आयोजक समितिका संयोजक कुलवीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारू महिला संघकी उपाध्यक्ष दुर्गा कुश्मीले स्वागत गरेकी थिइन् ।
पाँच दिनसम्म चल्ने महोत्सवमा थारू खानपिन परिकारको स्टल रहनुका साथै महोत्सवमा कीमार, लठ्ठहुवा नाच, मुंग्रहुवा नाच, लाठीनाच, सखिया नाचको विशेष प्रस्तुति रहने छन् । महोत्सव अवधिसम्म थारू समुदायको लोपोन्मुख कला, संस्कृति, खानपानको प्रदर्शन हुने आयोजकले जनाएको छ । यस्तै, रानाथारू समुदाय र कठरिया थारू समुदायको पनि प्रस्तुति रहने छ ।
थारू समुदायमा धानबालीमा लाग्ने रोगव्याधी हटाउन मनाउँदै आएको हरेरी पूजालाई ठूलो रूप दिँदै स्थानीयहरूले गत वर्षदेखि धनगढीमा महोत्सवको रूपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार