१२ श्रावण २०८१, शनिबार

कैदीबन्दीलाई कुहिएको चामल



धनगढी । कैलाली कारागारमा रहेका कैदीबन्दीहरूले आफूलाई कुहिएको चामल दिएको आरोप लगाएका छन् । उनीहरूलाई नेपाल खाद्य संस्थान धनगढीले चामल उपलब्ध गराउँदै आएको छ ।
कारागार व्यवस्थापन पक्षले हरेक १५/१५ दिनमा नेपाल खाद्य संस्थान मार्फत् कैदीबन्दीहरूलाई चामल वितरण गर्ने गरेको छ । संस्थानले वितरण गर्ने चामलमा अधिक ढुटो र बिया त छदैछन् त्यसैमा कुहिएको पनि हुनाले आफूलाई खान साह्रै समस्या भएको कैदी लक्ष्मण थारूले बताए ।
उनले चामलको गुणस्तरबारे पटकपटक कारागार व्यवस्थापन पक्षलाई भने पनि कुनै सुनुवाई नभएको गुनासो गरे । बुधबार कारागारको ब्लग नम्बर २ मा रहेका थारूले कारागार परिसरमा सञ्चारकर्मीहरूलाई कुहिएको चामल देखाउँदै भने– ‘उसै त ठाउँ अभावमा पशु झै कोचिएर बस्नु परेको छ त्यसैमा कुहिएको गुणस्तरहीन चामल खानु पर्दा अधिकांश कैदीबन्दी बिरामी हुन पुगेका छन् ।’
एक सय २५ जना कैदीबन्दी क्षमता रहेको यो कारागारमा अहिले ३ सय ६९ जना पुरुष, ३४ जना महिला र ३ जना आश्रित बालबालिका गरी ४ सय ६ जना कैदीबन्दी रहेका छन् ।
यहाँका कैदीबन्दीहरूलाई खाद्य संस्थानले अरुवा मोटा चामल उपलब्ध गराउने गरेको छ । कुहिएको चामल बारे आफूले के भएको बुझेर सम्बन्धित निकायलाई खबर गर्ने कैलाली कारागारका जेलर पुस्कर खड्काले बताए ।
जेलर खड्काले वर्षातको समय भएकोले एकाआध चामलको बोराको मुनतिर ओस लागेर कुहिएको पनि हुनसक्ने बताउँदै यदि त्यस्तो चामल भएमा खाद्य संस्थानलाई नै फिर्ता पठाउने बताए ।
खाद्य संस्थान धनगढीका निमित्त प्रमुख गंगादत्त पन्तले संस्थानले कैलाली कारागारका कैदीबन्दीहरूका लागि भनेर प्रत्येक महिना ८० देखि ९० क्विन्टलसम्म अरुवा मोटा चामल उपलब्ध गराउने गरेको बताए । उनले संस्थानले उपलब्ध गराउने चामल नयाँ प्याक र उचित भण्डारणमा राखिएको
बताउँदै कैदीबन्दीलाई वितरण गरिसकेपछि कारागार परिसरमा राख्दा तलबाट चिस्यान लागेर कुहिएको हुनसक्ने बताए ।
‘संस्थानले उपलब्ध गराएको चामल कुनैपनि हालतमा कुहिएको हुनसक्दैन्,’ निमित्त प्रमुख पन्तले भने, ‘यदि संस्थानले वितरण गर्ने चामल कुहिएको प्रमाणित भएमा आफूले सो चामल फिर्ता लिएर नयाँ नकुहिएको चामल उपलब्ध गराउने छौं ।’
उता कैदीबन्दीहरूले कारागारमा संस्थानले उपलब्ध गराउने चामल बाहेक अरु चामल ल्याउन नपाइने भएकोले कुहिएको चामल संस्थानकै भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार