४ जेष्ठ २०८१, शुक्रबार

बाढी–पहिरोका कारण मुलुकभर कम्तीमा ४१ को मृत्यु



काठमाडौं । अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने दर्जनौ बेपत्ता छन् । बाढी र पहिरोमा परी शनिबार रातीसम्ममा ३४ जनाको मृत्यु भएको हो भने आइतवार दिउँसो ७ सम्ममा जनाको मृत्यु भएको हो ।
तराईका सहरहरु डुवानमा परेका छन् भने पूर्व–पश्चिम राजमार्गका बिभिन्न स्थानमा पुल धसिने भाँचिएकाले बाटो अबरुद्ध भएको छ ।

गर्भवतीसहित छ को मृत्यु
चितवनबाट शिव पुरीका अनुसार रौतहटको परोरा गाउँपालिकाबाट प्रसूतिका लागि आउँदै गरेको गाडी राजपुर ३ स्थित डुबानमा पर्दा आइतबार बिहान गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालिका पनि छन् ।
परोरा-३ का चन्दनकिशोर यादवकी श्रीमती २७ वर्षीया शर्मिला यादवको सुत्केरी गराउन बिहान राजपुर फरहदवास्थित स्वास्थ्य चौकी ल्याउँदै गर्दा सडकमा उनीहरु सवार गाडी डुबानमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दन, उनका गर्भवती श्रीमती शर्मिला, ३ वर्षीया छोरी छोटीकुमार यादव, आमा ५४ वर्षीया सुनिता यादव, काकी ३८ वर्षीया ललिता यादव र भाइ २५ वर्षीय सरोज यादवको मृत्यु भएका मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाले जनायो । सुनितालाई सुत्केरी व्यथा लागेपछि बिएच२६एवाई १९३९ नम्बरको भारतीय टाटा सफारी जिपमा स्वास्थ्य चौकी ल्याउँदै गर्दा राजपुर ३ स्थित बाटोमा डुबानमा परेको हो ।

मकवानपुरमा एकको मृत्यु, ७ बेपत्ता
मकवानपुरबाट प्रताप विष्टका अनुसार बकैया गाउँपालिकाको मन्थलीमा शनिबार राति गएको पहिरोमा एक जना बालकको मृत्यु भएको छ । मंगलसेन न्यासुरको परिवारका सात जना बेपत्ता भएका छन् । मृत्यु भएका बालक पनि न्यासुरकै परिवारका हुन् । बकैयाकै बुंगे खोलाले बगाएर ४० वर्षीय वीरबहादुर मोक्तानको मृत्यु भएको छ ।
हेटौंडा ४ र ५ नम्बर वडा डुबानमा परेका छन् । कुलेखानी–फाखेलसहितका छोटो दूरीका बाटो अबरुद्ध भएको छ । मनहरी गाउँपालिका खोला पसेर स्थानीयको बिल्लीबाठ भएको छ । प्रहरीले उद्दार कार्य जारी राखेको छ ।

बीरगञ्जमा पानी बाढी पस्यो
वीरगन्ज महानगरपालिका भएर बग्ने सिरिसिया खोलाको बहाव उच्च भएपछि पानी वस्तीमा प्रवेश गरेको छ । वीरगन्जको रानीघाट, राधेमाई, छपकैया, अलौं, रामगढवा लगायतका क्षेत्रमा बाढीको पानीले जलमग्न गरेको छ । ढलको निकास नहुदा आदर्शनगर, कवि शिरोमणी टोल, नगवा, भिस्वा लगायतका क्षेत्रपनि जलमग्न छन् । यसै गरि पर्साको ग्रामीण भेगका तिलावे, ओरिया , भोडाहा खोलामा आएको बाढीले करिब दर्जन गाउँमा पानी प्रबेश गरेको छ ।

पूर्वी कैलाली पुरै डुवानमा
पूर्वी कैलालीको टीकापुर, भजनी, लम्कीचुह र घोडाघडी नगरपालिका पुरै डुवानमा परेको छ । त्यसैगरी जानकी र जोशीपुर गाउँपालिका पनि डुवानमा परेका छन् । मानिसहरु अग्लो घर र अग्लो ठाउँमा सुरक्षित हुन भौतारिइरहेका रहेका छन् । टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरीहरु कार्यालय डुवानमा परेपछि डुंगामा चढेर बाटोमा आएका छन् । दिउँसोसम्म खाना खान नपाएका उनीहरुको लागि होटलमा खाना अर्डर गरेका छन् ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार