४ जेष्ठ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो



धनगढी । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरा शनिबार धनगढीमा विभिन्न कार्यक्रम आयोजना भएका छन् ।
‘शान्ति र समृद्धिमा युवा’ नाराका साथ युवा दिवसका अवसरमा र्‍याली, अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।
दिवसको अवसरमा धनगढीको ट्राफिक चौराहदेखि कैलाली उद्योग वाणिज्य संघसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।
र्‍याली समापनका अवसरमा प्राध्यापक डाक्टर हेमराज पन्तले प्राकृतिक स्रोत साधन भएर मात्र राष्ट्र विकास नहुने भएकाले उद्यमशिलताको पनि उत्तिकै आवश्यकता रहेको चर्चा गरे ।
‘अफ्रिकामा प्राकृतिक स्रोत धेरै छन्, तर जापानमा उद्यमशिलता छ’ प्रा.डा. पन्तले भने– ‘जापानको आर्थिक विकास अफ्रिकी मुलुकभन्दा कैयौ गुण बढी छ ।’
कार्यक्रम जिल्ला युवा समितिका अध्यक्ष शम्भु कुँवरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा समितिका कार्यालय प्रमुख नारायणप्रसाद वाग्लेले स्वागत गरेका थिए ।
कैलाली जिल्ला युवा समिति आयोजक रहेको कार्यक्रममा फाया नेपाल, याक नेपाल, दलित महिला अधिकार मञ्च, ओरेक नेपाल, युथ एक्सन कैलाली, नेपाल स्काउट कैलाली, युवा शान्ति परिषद् कैलाली, धनगढी जेसीज तथा धनगढी लेडी जेसीज लगायतका संस्थाको सहकार्य रहेको थियो ।
युवा दिवसकै अवसरमा फाया नेपालले धनगढी उपमहानगरपालिकाको फूूलवारीमा र्‍याली तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।
धनगढी उपमहानगरपालिका—१९, पच्चीसघरबाट शुरु भएको र्‍याली वडा नम्बर १८ डिपोबजारमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी, फाया नेपालका सदस्य वीरेन्द्र चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
चन्द्रोदय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालीभान खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यस्तै, फाया नेपालको आयोजनामा डिपोबजारस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भएको छ ।
सो क्षेत्रका १५ विद्यालय र एक क्याम्पसका १७ जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा विकास खड्का प्रथम, अनिता रोकाया द्वितीय र निरज भट्ट तृतीय तथा राममिलन राना चौथो भएका थिए ।
विजेताहरूलाई वडाध्यक्ष अधिकारी लगायतले मायाको चिनो प्रदान गरे ।
त्यस्तै, युवा दिवसको अवसरमा युवाको श्रृजना भित्तोमा विद्यार्थीहरूलाई आफूखुसी चित्र बनाउन लगाइयो ।
युवा दिवसको अबसरमा कैलालीको गौरीगंगा नगरपालिकाको वडा नम्बर ९ मा महिला हिंसा तथा बाल विवाह न्यूनीकरणमा युवाको भूमिका विषयक् अन्तरक्रिया भएको छ ।
कार्यक्रम युवा क्लव समन्वय समिति मसुरियाका अध्यक्ष पुष्पराज भूसालको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा ओरेक नेपालका कार्यक्रम संयोजक सरिता चौधरी, पवनकुमार बोगटी, घनश्याम पौडेल, याममाया ढकाल, रमेश चौधरी, श्रीराम सापकोटा, लक्ष्मी सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार