२० बैशाख २०८१, बिहीबार

गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउन ज्ञापन



धनगढी । कैलालीको धनगढीस्थित नेपाल–भारत सीमानाका गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका रूपमा विकास गर्न आवश्यक पहलका लागि सरकारको पुन: ध्यानाकर्षण गरिएको छ ।
त्यस्तै, धनगढी विमानस्थलको स्तरोन्नती कार्य चाढो शुरु गर्न पनि सरकारसंग माग गरिएको छ ।
बिहीबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र कैलाली उद्योग वाणिज्य संघको टोली नेपाल सरकारसंग माग गरेको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको संयोजकत्व र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीसहितको प्रतिनिधि मण्डलले वाणिज्य मन्त्री मीन विश्वकर्मालाई गौरीफन्टा नाका र विमानस्थलको स्तरोन्नतीको माग गर्दै ज्ञापनपत्र बझाएको छ ।
‘गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक पहलका लागि सरकारसंग माग दोहोर्‍याएका छौं’ उपमहानगरपालिका प्रमुख वडले फोनमा अनुमोदनसंग भने– ‘त्यस्तै, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नती प्रक्रिया चाढो अघि बढाउन पनि सरकारको पुन: ध्यानाकर्षण गरेका छौं ।’
ज्ञापनपत्रमा कञ्चनपुरमा सुख्खा बन्दरगाह बनाउने र कैलालीको चटकपुरमा प्रदर्शनीस्थलको निर्माणको पनि माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै वाणिज्य मन्त्री विश्वकर्माले उपमहानगरपालिका तथा कैलाली उद्योग वाणिज्य संघद्वारा प्रस्तुत माग सम्बोधन गर्न सरकारले चाढै आवश्यक पहल र प्रक्रिया अघि बढाउने बताए । वाणिज्य मन्त्री विश्वकर्माले कैलालीमा गौरीफन्टा सीमानाका अन्तर्राष्ट्रिय नाकाका रूपमा स्थापना भएमा प्रदेश नम्बर ७ को आर्थिक विकासमा ठूलो परिवर्तन आउने भएकाले सरकारले यो मागलाई प्राथमिकतामा राखेको बताए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष बोगटीले ज्ञापनपत्रमा उल्लिखित माग सम्बोधन भएमा प्रदेश नम्बर ७ कै आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार