२० बैशाख २०८१, बिहीबार

बृहत बृक्षारोपण कार्यक्रम



धनगढी । कैलालीको धनगढीमा बुधबार विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइएको छ ।
‘सामुदायिक वनको पहिचान, समृद्धिको अभियान’ भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ, कैलाली, धनगढी उपमहानगरपालिका कार्यालय र जिल्ला वन कार्यालयको संयुक्त आयोजनामा श्रीकृष्ण धार्मिक वनमा वृक्षारोपण गरियो ।
केही दिनदेखि धनगढीमा शुरु गरिएको ‘नगर हरियाली अभियान, भोट वराबर वोट’ कार्यंक्रम बुधबार सो धार्मिक वनमा विभिन्न जातका एक हजार आठ विरुवा रोपिएको जनाइएको छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रम श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष द्विजराज पनेरूको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा महासंघका जिल्ला उपाध्यक्ष यादवप्रशाद भण्डारी, देव फाउन्डेसनका अध्यक्ष रविनकान्त पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष प्रकाश शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सामुदायिक वन उपभोक्ता महासंघ, कैलालीका सचिव डण्डीराज सुवेदीले गरेका थिए ।
वृक्षारोपण कार्यक्रममा विभिन्न राजनीतिककर्मी, शिक्षक, विद्यार्थी, सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
यसैबीच, कैलाली बहुमुखी क्याम्पसको प्राङ्गणमा पनि बुधबार वृक्षारोपण कार्यक्रम भएको छ ।
कैलाली बहुमुखी क्याम्पस र डोटी–कैलाली सम्पर्क मञ्चको सहकार्यमा क्याम्पस परिसरमा विभिन्न जातका एक सय आठ विरुवा रोपिएको थियो ।
वृक्षारोपण कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस प्रमुख डा. पद्मराज जोशी, शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्त, प्राध्यापक सुरेन्द्र चन्द, डोटी–कैलाली सम्पर्क मञ्चका अध्यक्ष हरिकृष्ण ओझा, सचिव रोशन उपाध्याय, मञ्चका पूर्व अध्यक्ष मोहन ओझा सहित विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार