२० बैशाख २०८१, बिहीबार

महिला हिंसा निवारण सम्बन्धी कानून मस्यौदामा छलफल



धनगढी । महिला विरुद्धको हिंसा निवारण तथा महिलाको विशेष अवसर सम्बन्धी कानूनको मस्यौदाबारे बुधबार धनगढीमा छलफल भएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको छलफल कार्यक्रममा कानून मस्यौदामा स्थानीय सरोकारवालाहरूबाट रायसुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले समाजका सबै पक्षको रायसुझाव संकलन गरेर कानून निर्माण गर्दा बढी प्रभावकारी हुने चर्चा गरे
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले महिला विरुद्धको हिंसा न्यूनीकरणमा टेवा पुग्ने गरी महिलाका विभिन्न सवाललाई समावेश गरी कानून निर्माण गरिनु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले नेपालको संविधानको धारा ३८ लाई कार्यान्वयन गर्नकै लागि पनि महिलाका आर्थिक सक्षमता, आत्मनिर्भरता तथा अधिकारबारे सचेतना बढाउने कार्यक्रमलाई प्राथमिकता दिइनु पर्ने र पीडित महिलालाई छिटोछरितो तथा सहज रूपमा न्याय र क्षतिपूर्ति दिने कानूनी व्यवस्था हुनुपर्ने बताए ।
कार्यक्रममा महिला कानून र विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठले संविधानको धारा ३८ (३) र अधिवक्ता डा. जानकी तुलाधरले धारा ३८ (५) अन्तरगत मस्यौदा गर्नुपर्ने विधेयकको पृष्ठभूमि एंव समेट्नु पर्ने विषयवस्तुमाथि प्रकाश पारेका थिए ।
कार्यक्रम मन्त्रालयका सचिव खगराज बरालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मन्त्रालयकी सहसचिव राधिका अर्यालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार