१५ पुष २०८१, सोमबार

धनगढी विमानस्थलको स्तरोन्नति छिटो गर्न माग



धनगढी । ‘विकास र समृद्धि हाम्रै पालामा’ अभियान शुरु गरेका अभियानकर्ताहरूले धनगढी विमानस्थलको स्तरोन्नतिको कार्य छिटो अगाडि बढाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
अभियानका संयोजक व्यावसायी गोपाल हमालको टोलीले बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई विमानस्थलको स्तरोन्नति कार्य ढिलाई भइरहेकोप्रति ध्यानाकर्षण गराएको थियो ।
विमानस्थल विस्तारका लागि आवश्यक जग्गाको मूल्य निर्धारण नभएकोले जग्गा अधिग्रहण कार्य रोकिएको, रात्रिकालिन र प्रतिकुल मौसममा सुरक्षित उडानका लागि आवश्यक पर्ने उपकरण जडान नभएकोप्रति टोलीले गुनासो गरेको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रिजालले एक साताभित्रै जग्गा अधिग्रहणसम्बन्धी प्रक्रिया अघि बढाइने आश्वासन दिएको टोली सदस्य व्यावसायी प्रकाश भट्टले बताए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जग्गाको मुआव्जा निर्धारण समितिको बैठक बस्न नसकेकाले सो कार्य अघि बढ्न सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक पर्ने १७ विघा तीन कठ्ठा जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार